शक्ति प्रदर्शनको तयारीमा राजेन्द्र महतो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विद्रोह गरेका वरिष्ठ नेता राजेन्द्र महतोले काठमाडौँबाट शक्ति प्रदर्शन  गर्ने भएका छन् ।

आन्दोलनको तयारीमा रहेका महतोले आफू मधेसमा मात्र केन्द्रित नरहेको सन्देश दिनका लागि पनि पहिलो शक्ति प्रदर्शन काठमाडौँबाट गर्ने तयारी गरेको उनी निकट नेताहरूले बताएका छन् । त्यसका लागि महतोले गोप्य ढङ्गले काठमाडौँ र वरपरका जिल्लामा प्रशिक्षण तथा तालिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

आदिवासी जनजाति, खस आर्य समुदायलाई साथमा लिनका लागि उनले अहिले दिनहुँ प्रशिक्षणका कार्यक्रम गरिरहेको उनी निकट नेता बताउँछन् । महतो निकटका एक नेताले भने, ‘काभ्रे, धादिङ, सिन्धुली, काठमाडौँ लगायत विभिन्न ठाउँमा प्रशिक्षण चलिरहेका छन्, प्रशिक्षण कार्यक्रमलाई अहिले प्रचारमा ल्याइएको छैन ।’

राजेन्द्र महतोले आफ्नो प्रशिक्षण, गोष्ठी, तालिमलाई मिडियाभन्दा टाढा राखेका छन् । यहाँसम्म कि सामाजिक सञ्जालमा समेत त्यसको बारेमा लेख्न रोक लगाएका छन् ।

  • २३ माघ २०८०, मंगलवार १६:०४ प्रकाशित