रोल्पा ।
रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ ।
सुनछहरी गाउँपालिका वडा नम्बर–३ र वडा नम्बर–४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो । ३३ केजी प्रसारण लाइनमार्फत वितरण उक्त बिजुलीले दुवै गाउँमा गरी १ हजारभन्दा बढी घरमा विद्युत सेवा पुग्ने नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रका उप–महासचिव एवं पूर्वऊर्जामन्त्री वर्षमान पुन अनन्तले स्वीच दबाएर विद्युतीकरणको औपचारिक उदघाटन गरे । सो क्रममा उनले गाउँमा उज्यालोसँगै नयाँ विकास, नयाँ सभ्यता र नयाँ संस्कार आउने बताए ।
गाउँमा बिजुली आएसँगै दैनिक जनवीजनका धेरै काममा सहजता आउने तथा स्थानीय उद्योग स्थापना गर्न सकिने उनको भनाइ थियो ।नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख अषेश्वर साहले रोल्पामा विद्युतीकरणको काम तीव्र गतिमा भएको बताए ।












