म्याग्दी ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मंगलबार रुखले थिच्चेर एक महिलाको ज्यान गएको छ ।
गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा थिच्चेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।
रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ । फूलबारीका मानबहादुर भण्डारीको घरमा माया श्रीमान् नवीनसँगै टुनीको दाउरा काट्न गएकी थिइन् ।
नवीनले रुख ढलाउने मेसिन चलाउने र मानबहादुर भण्डारी बाटोमा मानिस हेर्न बसेका थिए । भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा चोट लागेको थियो ।












