एमाले महाधिवेशन आजदेखिः चितवनमा बिहानैदेखि कार्यकर्ताको चहलपहल

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुदैँछ । चितवनको नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन हुने भएको छ । महाधिवेशनमा देशभरबाट पुगेका कार्यकर्ताको आज बिहानै देखि चितवनमा चहलपहल देखिएको छ ।

मध्यान्ह १२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।

महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्नका लागि नेकपा एकीकृत समाजवादी बाहेकका अन्य पार्टीले निम्तो पाएको छ।प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हेलिकप्टरमार्फत एमाले महाधिवेशन सम्बोधन गर्न चितवन जादैँ छन्।

यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमाले महाधिवेशनमा नजाने भएका छन्।

साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरू भने महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्न जाने भएका छन्। अध्यक्ष ठाकुर बिहीबार नै चितवन पुगिसकेका छन्।

महाधिवेशनका लागि एमाले अध्यक्ष ओलीसहित एमालेका सबै नेताहरू चितवन पुगिसकेका छन्।

एमालेले देशभित्र र बाहिरका विभिन्न पार्टीहरूलाई महाधिवेशनका लागि बोलाएको छ। भारत, बंगलादेश, श्रीलंकालगायत विभिन्न देशबाट भने विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै नेताहरू आउने कार्यक्रम रहेको एमालेले जनाएको छ।

  • १० मंसिर २०७८, शुक्रबार ०८:३५ प्रकाशित