गण्डकीबाट चार पदाधिकारी सहित ३० जना केन्द्रीय सदस्य आकांक्षी, होलीडे होम होटेलमा सम्पर्क कार्यालय

केन्द्रभाग मिडिया

गण्डकीबाट एमाले महाधिवेशनमा पुग्ने सहभागीलाई होलीडे होम होटेलमा स्वागत गर्दै एमाले स्थायी समिति सदस्य किरण गुरुङ र पूर्वमन्त्री जगत विश्वकर्मा सहितका नेताहरु

पोखरा ।
नेकपा एमालेको आज देखि चितवनमा सुरु हुने महाधिवेशनमा गण्डकी प्रदेशबाट चार जना नेताले पदाधिकारी र २६ जना नेताले केन्द्रीय सदस्यले आकांक्षा राखेका छन् ।

एमाले गण्डकी प्रदेश कार्यालयका सचिव गोविन्द बहादुर नेपालीले आकांक्षी सबैलाई गण्डकी प्रदेशको सम्पर्क कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको जानकारी दिए ।

सौराहाको गैह्राचोक देखि डेढ सय मिटर पर होली डे होम होटेलमा सम्पर्क कार्यालय स्थापना गरेर आकांक्षी सबैलाई सम्पर्क गर्न आग्रह गरिएको उनले बताए । ‘गण्डकी प्रदेशबाट अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्यसहित गरेर ३० जनाले आकांक्षा राख्नु भएको छ । सबै आकांक्षीलाई हामीले सम्पर्क कार्यालयमा सम्पर्क गर्न भनेका छौं । सबैको प्रचारप्रसार लगायतको व्यवस्था हामी सचिवालयबाटै एकीकृत रुपमा गर्दैछौं’ उनले भने ।

कार्यालय सचिव नेपालीका अनुसार सम्पर्क कार्यालयमा गण्डकी प्रदेश समितिका संयोजक किरण गुरुङ, सचिव जगतबहादुर विक, नेताहरु मायाँनाथ अधिकारी र कार्यालय सचिव नेपाली स्वयम प्रदेशबाट जाने प्रतिनिधि, पर्यबेक्षक र आम शुभेच्छुकलाई स्वागत गर्न खट्टिएका छन् ।

गण्डकीबाट पदाधिकारीमा एमालेको हाल पार्टी सचिव रहेका गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, हाल स्थायी समिति सदस्य एवं गण्डकी प्रदेशको संयोजक रहेका किरण गुरुङ, पूर्वमन्त्री एवं हाल केन्द्रीय सदस्य रहेका पद्मा आर्याल र खगराज अधिकारी पदाधिकारी आकांक्षी हुन् । पृथ्वी सुब्बाले महासचिव, किरणले उपाध्यक्ष, खगराज र पद्माले सचिवमा आकांक्षा राखेका छन् । केन्द्रीय सदस्यमा कास्कीका मात्र झण्डै डेढ दर्जनले आकांक्षा राखेका छन् ।

गण्डकी प्रदेशबाट ७५ हजार मानिस महाधिवेसन स्थलमा उतारिने उनले जानकारी दिए । बागलुङ, पर्वत, लगायत गण्डकीका टाढाका जिल्लाबाट अधिकांस सहभागी सौराहा पुगिसकेको र स्याङ, कास्की, लमजुङ र तनहुँ लगायतका जिल्लाबाट सहभागि पुग्ने क्रममा रहेको उनले बताए ।

जिल्ला र स्थानीय कमिटीले व्यवस्थापन गरेका सवारी साधन र निजी सवारी साधनमा समेत सहभागीहरु महाधिवेशन स्थल पुग्ने क्रम रहेको उनले जानकारी दिएका छन् । ‘हामी गण्डकीबाट पौने लाख मानिस महाधिवेशनमा उतार्दै छौं । टाढाका जिल्लाहरुबाट आइसक्नुभएको छ । नजिकका जिल्लाहरुबाट आउने क्रम छ’ उनले भने ।

  • १० मंसिर २०७८, शुक्रबार ०८:२२ प्रकाशित