पोखरा ।
व्यवसायी दुर्गा प्रसाईंले जुत्ता प्रहार र कालोमोसो दलेर आफूलाई झन फाइदा भएको टिप्पणी गरेका छन् । वागलुङमा विहीबार जुत्ता प्रहार खेपेका उनले पोखरामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले एमालेका कार्यकर्ताले कालोमोसो लगाएपछि नै आफू चर्चामा आएको बताए । ‘कुटाई खानु, आक्रमण गर्नु मलाई झन हाइलाइट गर्नु हो ।’ उनले भने, ‘मलाई एमालेले आक्रमण गरेपछि झन हाइलाइट भएको हुँ । यसबाट म खुशी छु ।’
प्रसाईंले आज वागलुङमा आक्रमण गर्ने युवकले नेतालाई, भ्रष्टलाई र भुटानी नागरिकका नाममा मान्छे बेच्नेलाई आक्रमण गर्नुपर्नेमा आफूलाई आक्रमण गरेर गल्ति गरेको समेत बताए । ‘उनले नेतालाई, भ्रष्टलाई र भुटानीका नामममा नागरिक बेच्नेलाई आक्रमण गर्नुपर्ने हो । तर मलाई आक्रमण गरेर गल्ति गरे’ उनले भने ।
आफ्नो आन्दोलन देश र जनताका लागि भएको भन्दै उनले साथ दिन समेत आग्रह गरेका छन् । आफू विरुद्धका कूरा भ्रम छर्नका लागि मात्र गरिएको उनको भनाई थियो ।