दमौली ।
विपन्न वर्गका लागि घर निर्माण गर्न तनहुँको म्याग्दे गाउँपालिकाले लाभग्राहीको नाम स्वीकृत गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा आर्थिकरूपमा विपन्न वर्गलाई नमूना आवास निर्माणका लागि गाउँपालिकाले १६ जना लाभग्राहीको नाम स्वीकृत गरेको हो ।
नमूना आवास निर्माण कार्यक्रम कार्यान्वयन समन्वय समितिको हालै बसेको बैठकले लाभग्राही छनोट गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । सङ्घीय सरकारको समपूरक कोष र गाउँपालिकाको साझेदारीमा विपन्नका लागि घर निर्माण गर्न लागिएको र यसका लागि समपूरक कोषबाट ५० लाख र गाउँपालिकाबाट रु ५० लाखगरी रु एक करोड ब्यहोरिने उनको भनाइ थियो ।
प्रशासकीय अधिकृत अधिकारीले भने– ‘गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाअन्तर्गत विपन्न वर्गलाई नमूना आवास घर बनाउन लागेका हौँ । त्यसका लागि लाभग्राही छनोट भएका छन् ।”
गाउँपालिकाको वडा नं १ देखि ७ सम्ममा रहेका लक्षित वर्गलाई नमूना आवास कार्यक्रम कार्यविधि, २०८० को दफा (३) बमोजिम मापदण्ड तथा सूचीभित्र योग्यता पुगेका स्थानीय नागरिकलाई मङ्सिर २७ गतेभित्र निवेदन पेस गर्न सूचित गरिएको थियो ।













