जापान र अष्ट्रेलिया खुलेसँगै विद्यार्थीको लगानी जोखिम टर्‍यो, १२ हजार नेपाली विद्यार्थी जाने तयारीमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

उच्च शिक्षाका लागि नेपाली विद्यार्थीले लाखौँ लगानी गर्ने गरेका छन् । कोरोना महामारीका कारण उच्च शिक्षाका लागि विदेश जान चाहेका विद्यार्थी रोकिनु परेको थियो भने उनीहरुको लाखौँ लगानी धरापमा थियो ।

जापान र अष्ट्रेलियाले विदेशी यात्रुको लागि आवागमन खोलेसँगै नेपाली विद्यार्थीको लगानी जोखिम भने टरेको छ । जापान र अष्ट्रेलियाले सीमा खोलेपछि १२ हजार नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि विदेश जाने तयारी गरेका छन् ।

अष्ट्रेलिया र जापानले अन्तर्राष्ट्रिय सीमा खुला गरेपछि विद्यार्थी उत्साहित हुदँै त्यहाँ अध्ययनका लागि जाने तयारी थालेका हुन्।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले जापान र अष्ट्रेलियाको घोषणाले नेपाली विद्यार्थी र शैक्षिक परामर्श व्यवसायीलाई खुशि दिएको बताए ।

उनका अनुसार अस्ट्रेलियाको लागि मात्र झन्डै चार हजार नेपाली विद्यार्थीले अध्ययनका लागि भिसा लिएका छन् । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको झन्डै सात अर्ब रुपैयाँ लगानी भएको छ ।

अस्ट्रेलियामा अध्ययनका लागि भिसा पाएका झन्डै चार हजार र जापानका लागि सीइओ पाएका आठ हजारभन्दा बढी विद्यार्थी उत्साहित भएका छन् ।
जापानका लागि औसत प्रतिविद्यार्थी सात लाख रुपैयाँ बुझाएका छन् । जापानका लागि दुई अर्ब १० करोड रुपैयाँ फसेको छ ।

अष्ट्रेलियाले डिसेम्बर १ र जापानले नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत विभिन्न भिसाअन्तर्गत यात्रा गर्न चाहने यात्रुकालागि आवागमन खुला गर्ने निर्णय गरिसकेका छन् ।

  • ८ मंसिर २०७८, बुधबार १३:१५ प्रकाशित