काठमाडौँ ।
नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याएको हो ।
३ हजार ९ सय मिटरमा सञ्चालनमा आएको यस स्कुलमा हाइ अल्टिच्युडमा प्याराग्लाइडिङ गर्न चाहनेहरुले तालिम लिन सक्नेछन् । नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा स्कुल सञ्चालनमा ल्याइएको कम्पनी सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए । स्कुलमा उच्च हिमाली हावापानीमा कसरी प्याराग्लाइडिङमा उड्ने, कसरी उडाउने भन्नेबारे सिकाइने उनको भनाइ छ ।
प्याराग्लाइडिङ स्कुलका लागि आवश्यक पूर्वाधार तयारीमा दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको छ । साथै अन्य सुविधाहरू पनि क्रमशः विस्तार गरिने गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य गन्तव्यको पर्यटकीय प्रवर्द्धन गर्नका लागि पनि प्याराग्लाईडिङ स्कुल महत्वपूर्ण हुने गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ ।
पाउँपालिकामा प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएपश्चात स्थानीयलाई समेत रोजगारीको नयाँ अवसर सिर्जना हुँदै जाने उनले बताए ।
बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले यसअघि ९ वर्षदेखि स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ स्कुल सञ्चालन गर्दै आएको छ ।