काठमाडौं ।
बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ । नेपालमा बिहीवार बेलुकादेखि शनिवारसम्म प्रणालीको प्रभाव रहने प्रारम्भिक पूर्वानुमान छ ।
यसबाट आत्तिनु नपर्ने तर सतर्क भने हुनुपर्ने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । विभागकी प्रवक्ता एवम् वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको अवशेषले पर्याप्त जलवाष्पयुक्त हावा बोकेर ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले नेपालमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको हो ।
‘तर अहिले नै आत्तिनुपर्ने अवस्था छैन, सतर्क भने रहनुपर्छ,’ पोखरेलले भनिन् ।
पछिल्लो पूर्वानुमानअनुसार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । यद्यपि, प्रणाली नेपाल नजिक आइपुग्दासम्म कमजोर भए वर्षाको प्रभाव कम हुन सक्ने र अपेक्षाकृत शक्तिशाली रहे प्रभाव बढ्न सक्ने पोखरेलले बताइन् ।
उनका अनुसार उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्छ । हिमाली क्षेत्रमा पर्यटकीय गतिविधिमा संलग्न व्यक्ति बढी जोखिममा पर्न सक्ने भएकाले सुरक्षित स्थानमा बस्न र सम्भव भएसम्म उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न उनले सुझाव दिइन् ।
पहिरोको जोखिम भएका स्थान तथा सडकखण्डमा यात्रा गर्दा पनि सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न उनले आग्रह गरिन् ।
धान काट्ने किसानलाई पनि सतर्क रहन आग्रह
वर्षाले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने देखिएको छ । अहिले धान काट्ने समय भएकाले किसानले मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर कृषि कार्यको योजना बनाउनुपर्ने पोखरेलले बताइन् ।
धान काट्नुअघि मौसम विज्ञान विभागले जारी गर्ने आधिकारिक सूचना र पूर्वानुमान हेर्न उनले किसानलाई आग्रह गरिन् ।जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले पनि आवश्यक सतर्कता अपनाउनुपर्ने उनले बताइन् ।













