पोखरा ।
नेपालको प्रतिष्ठित व्यवासायिक घराना केसी ग्रुपका कार्यकारी निर्देशक, युवा उद्यमी एवं समाजसेवी किरण केसी नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
केसी कास्की क्षेत्र नं. २ बाट सोमबार भएको निर्वाचनमा लोकप्रिय मतका साथ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित केसीले आफू कुनै गुटभित्र सिमित नरहेको प्रतिक्रिया दिएका छन् ।
उनले आफ्नो आदर्श नै नेपाली काँग्रेस रहेको बताए। ‘म कुनै गुटमा सिमित छैन । कांग्रेस नै मेरो वैचारिक घर हो । म यही पार्टीको जिम्मेवार कार्यकर्ता हुँ । राष्ट्रियता, लोकतन्त्र र समाजवाद भन्दा पर मेरो कुनै दर्शन, विचार र आदर्श छैन । सामाजिक र राजनीतिक परिवर्तनका खातिर अग्रजहरुले गरेको योगदानलाई उच्च सम्मान गर्दै वहाँहरुको सपना र आर्शिवादलाई ग्रहण गर्दै सम्पूर्ण युवा मात्रै नभएर भावी पुस्ताको समेत मार्गदर्शक बन्ने एकमात्र चाहना छ । मेरो राजनीतिक प्रण यही हो’ उनले भने ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित किरण केसी प्रतिष्ठित उद्योगपति स्व. सूर्यबहादुर केसीका छोरा हुन् । केसी कालिका बहुमुखी क्याम्पसका कार्यबहाक अध्यक्षसमेत हुन् ।