मन्त्री सुदन किरातीको बर्खास्ती माग गर्दै प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन नेपाल सनातन धर्म संस्कृति संगठनले बिहिबार प्रदर्शन गरेको छ ।

बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै संगठनले पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीले मन्त्री किरातीको राजीनामा पनि माग गरेका छन् ।

विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई नमान्नेहरु संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर हिन्दु धर्मसँग सम्बन्धित संघसंस्थाले बिरोध जनाएका छन् ।

नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचाल्नु गलत भएको बताएका छन ।

यता पोखरामा पनि साँझ विरोध प्रर्दशन हुने भएको छ । पोखराको पृथ्वीचोकमा साँझ प्रजातान्त्रिक युवा संगठन कास्कीको आह्वानमा राँकोसहितको प्रर्दशन हुन लागेको हो ।

  • ५ पुष २०८०, बिहीबार १६:३० प्रकाशित