एमालेमा ओली सर्वसम्मत अध्यक्ष नबन्ने, रावलले गरे उम्मेद्वारी घोषणा (१५ बुँदे सहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नजिकिएको नेकपा एमालेको १० औं महाधिवेशनमा निर्विरोध रुपमा अध्यक्ष बन्ने तयारीमा लागेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत रुपमा अध्यक्ष बन्ने चाहना पुरा नहुने भएको छ ।

उनलाई टक्कर दिने नेताहरु पार्टीबाट बाहिरिएसंगै ओली १०औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने एमाले बृत्तमै चर्चा चलिरहेको बेला एमालेको हालका उपाध्यक्ष रहेका भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेलगत्तै ओलीको सर्वसम्मत बन्ने चाहना पुरा नहुने देखिएको हो । एमाले उपाध्यक्ष रावलले आइतबार राजधानी काठमाडौंमा पत्रकार पत्रकार सम्मेलन गरेरै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ । एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने कसरत गर्दै आएको छ । तर, ओलीको क्रियाकलापप्रति असन्तुष्ट रावललगायतले पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग निकट मानिने रावललगायत नेपालले पार्टी फुटाउँदा भने एमालेमै संघर्ष गर्ने भन्दै साथ दिएका थिएनन्। रावलले पार्टीभित्र निरन्तर आफ्नो असन्तुष्टि राख्दै आएका छन् ।

पत्रकार सम्मेलनमा पार्टीमा १० बुँदे सहमति कार्यान्वयनमा नेतृत्व इमान्दार नदेखिएको भन्दै उपाध्यक्ष रावलले चरम असन्तुष्टि प्रकट गरे । उनले राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउन र स्वभामानको झण्डालाई माथि उठाउन आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।

यस्ता छन् प्रतिवद्धता

१. वर्तमान विश्वका अधिकांश सार्वभौम र स्वतन्त्र देशका राजनीतिक दल र नेताहरुले आफ्नो राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र हितलाई सर्वोपरी राखे झैं नेपाल सरकार, राजनीतिक दल र नेताहरुले राष्ट्रिय स्वाधीनता, स्वाभिमान, सुरक्षा र हितलाई सर्वोपरी राखेर काम गर्ने । नेपालको संविधान, मौलिक सभ्यता, संस्कृति र इतिहासको संरक्षण र संवद्र्धन गर्ने ।

२. जनशक्ति लगायत देशको सबै साधन र स्रोतलाई राष्ट्र हितमा पूर्ण सदुपयोग र परिचालन गर्ने । आफ्नो देश र जनताको हितको पक्षमा उभिदा कोही खुसी नहोला कि भन्ने मानसिकताबाट पूर्णतः मुक्त रही क्रियाशील रहने । आफ्नो देशको पक्षपोषण गर्नु अरु कसैको विरोध गर्नु वा कसैप्रति अमैत्री हुनु होइन भन्नेमा सबैलाई स्पष्ट तुल्याउने ।

३. इतिहासको उत्तरदानका रुपमा रहेका नेपालको स्वाधीनता, स्वाभिमान र हितमा आँच पु¥याउने असमान सन्धि–सम्झौताबाट मुक्त हुनुका साथै त्यस्ता किसिमका सन्धि–सम्झौता नहुने र हुन नदिने दिशामा दृढताका साथ अग्रसर रहने । सबै मित्र राष्ट्रहरुसंग सुमधुर सम्बन्ध कायम गर्न सार्वभौमिक समानता, पारस्परिक हित र सम्मानको दिशामा कुटनीति सञ्चालन गर्ने । राजनीतिक दलहरुका बीच राष्ट्र र जनताको हितका विषयमा साझा धारणाका साथ सहकार्य गर्ने वातावरण निर्माण गर्न र परराष्ट्र नीतिमा समान विचार–दृष्टिकोणका साथ प्रस्तुत हुने स्थिति सिर्जना गर्न भूमिका खेल्ने ।

४. नेपाली जनताको कष्टसाध्य अभ्यासबाट स्थापित नेपालको संविधान लोकतान्त्रिक प्रणालीलाई जनहित, सुशासन, विकास र समृद्धिको दिशामा सञ्चालन गर्ने ।

५. राजनीतिक दललाई देशको कानून तथा दलका घोषित सिद्धान्त, कार्यक्रम, नीति र निर्णयको आधारमा सञ्चालन गर्ने । अधिवेशन र निर्वाचनमा गरिएका बाचा र प्रतिबद्धता विपरीत राजनीतिलाई सत्ता स्वार्थको खेलमा परिणत गर्ने गलत राजनीतिक संस्कृति, आचरण र व्यवहारको अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गर्र्ने ।

६. नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नेकपा (एमाले) क्रियाशील रहेको वर्तमानसम्म पार्टीले अंगिकार गरेको माक्र्सवाद–लेनिनवादलाई नेपालको वस्तुस्थिति अनुरुप सिर्जनात्मक रुपमा लागु गर्ने विषयलाई पुनःपरिभाषित गर्दै समयका चुनौतीहरुको सामना गर्नसक्ने तथा देशको आवश्यकता र जनताको आकांक्षा अनुरुप अगाडि बढ्ने । संसदीय निर्वाचनका सबै मोर्चामा नेकपा ९एमाले० लाई राष्ट्रिय हितमा आधारित स्पष्ट दृष्टिकोणका साथ सशक्त रुपमा अगाडि बढाउँदै विजयी बनाउने र केन्द्र, प्रदेश र स्थानीय तहमा बहुमत प्राप्त गरी देशलाई निर्दिष्ट दिशामा दृढताका साथ नेतृत्व प्रदान गर्ने ।

७. पार्टीलाई विधि, पद्धति, सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको प्रणाली अनुरुप सञ्चालन गर्ने । पार्टी कमिटी र जनसंगठनको सञ्चालन घोषित सिद्धान्त, पद्धति र लक्ष्य अनुरुप गर्ने र अन्तरविरोध तथा समस्याहरुको यथासमयमा समाधान गर्दै संगठनलाई क्रियाशील र सशक्त तुल्याउने । शीर्ष कार्यकारी तहको नेतृत्वपंक्तिबाट नै गुटबन्दी हुने कार्यले पार्टीको शक्ति र प्रभावलाई कमजोर पार्दै अन्ततः फुटको दिशामा धकेल्ने तथ्यको पुष्टि भइसकेकोले गुटबन्दीबाट पार्टीलाई मुक्त गरी यसको समग्र क्षमताको सुदपयोग हुने र विषयवस्तुमा विवेकसम्मत किसिमले छलफल हुने स्थिति निर्माण गर्ने । निर्णय प्रक्रिया संस्थागत नहुने र केही व्यक्ति–समूह हुँदै व्यक्तिमा केन्द्रित हुने स्थितिको अन्त्य गर्ने ।

८. व्यक्तिको मूल्याङ्कन र जिम्मेवारी प्रदान गर्ने कार्य, दिइएको जिम्मेवारी बहन गरी प्राप्त गरेको सफलता र उपलब्धि, योग्यता, क्षमता र इमान्दारीको आधारमा गर्ने ।

९. पार्टीको आम सिद्धान्त, कार्यक्रम र नीतिको आधारमा देशभक्तिको भावनका साथ समसामयिक विषयमा स्पष्ट धारणा बनाई त्यसको कार्यान्वयन गर्न अग्रसर रहने । पार्टीले विगतदेखि अवलम्बन गर्दै आएको असमान सन्धि–सम्झौताको खारेजी र परिवर्तन, नेपालको जलस्रोत लगायतका प्राकृतिक स्रोतहरुको नेपालको विकासमा सदुपयोग, नेपालका अतिक्रमित भूभाग र अन्तर्राष्ट्रिय कानून बमोजिम संरक्षण तथा नियमन गर्नुपर्ने सिमानाबारे राष्ट्रको रक्षा र सुरक्षालाई ध्यानमा राख्दै स्पष्ट धारणासहित आम राष्ट्रिय दृष्टिकोणका साथ उपयुक्त पाइला चाल्ने, प्रशासन, सुरक्षा निकाय लगायत राज्यका सबै अंगहरुले राष्ट्रिय हित र स्वाधीनतालाई उच्चस्थानमा राखेर कर्तव्य निर्वाह गर्ने स्थिति सिर्जना गर्न क्रियाशील रहने ।

१०. नेपाल सरकार र अमेरिकी संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० संग भएको सम्झौतामा रहेका राष्ट्रिय स्वाधीनता र हितमा आघात पु¥याउने प्रावधानहरु हटाउने र नहटाइने भए सम्झौता नै खारेज गर्ने । नेपालको हित, स्वाधीनता, परराष्ट्र नीति र सुरक्षामा आघात पु¥याउने प्रावधानहरुलाई नेपाल सरकार र जनता सामु स्पष्ट किसिमले राख्ने । मूल सम्झौता संगै भएका कार्यान्वयन सम्झौता लगायतका सम्झौताहरु संसद र जनसमक्ष पारदर्शी रुपमा ल्याउन भूमिका खेल्ने ।

११. विशिष्ट र संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालको तत्कालीन र दीर्घकालीन हित र सुरक्षाप्रति सचेत रहँदै तद्अनुरुप राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन गर्न र त्यस प्रयोजनका लागि सबै किसिमको राष्ट्रिय शक्तिको सुदृढिकरण र परिचालनका लागि क्रियाशील रहने ।

१२. देशको समग्र राजनीति, अर्थतन्त्र (सबै क्षेत्रको विकास रणनीति समेत), संस्कृति र शिक्षालाई राष्ट्रिय विकास र हित अनुकूलको दिशामा अघि बढाउन सशक्त भूमिका निर्वाह गर्न पार्टीलाई नेतृत्व प्रदान गर्ने । पिछडिएका बर्ग, समुदाय र क्षेत्रको उत्थानलाई राष्ट्रिय विकासको महत्वपूर्ण आधारका रुपमा लिदै सबै राष्ट्रिय एकताको आधारलाई बलियो बनाउने ।

१३. सदस्यता वितरण, नविकरण र प्रतिनधि चयनमा पार्टीको विधान, पद्धति, मान्यता र असल परम्परा विपरीत सदस्यहरुको चुन्न र चुनिन पाउने सार्वभौम अधिकार कुण्ठित गर्ने क्रियाकलापहरु पुनः दोहोरिन नदिने । महाधिवेशन हुन ६ महिना अघि सदस्यता प्राप्त व्यक्तिले मात्र प्रतिनिधि चुन्न र चुनिन पाउने लगायतका पार्टी निर्देशन विपरीत प्रतिनिधि चयनको प्रक्रिया आरम्भ हुनु दुई दिन अघिसम्म सदस्यता वितरण गर्ने, प्रतिनिधिको निर्वाचनको प्रक्रिया आरम्भ नगर्ने, कुनै सहमति नभई र चुनावको काम नै नभई प्रतिनिधिको नाम मनपरी किसिमले घोषणा गर्ने जस्ता पार्टीको मर्यादामा आघात पु¥याई संगठनलाई क्षति पु¥याउने किमिसका क्रियाकलाप हुननदिने ।

१४. मैले कम्युनिष्ट पार्टी र निरंकुश पञ्चायत विरोधी आन्दोलनमा समाहित भएदेखि शान्ति प्रक्रिया, संविधान निर्माण र पार्टी एकताको लागि विभिन्न कार्यमा संलग्न हुँदा निश्चित विचार, आदर्श, मूल्य–मान्यता, नीति र दृष्टिकोणका साथ आफुलाई उभ्याएको छु । यस्ता विषयहरु प्रति वर्तमान पार्टी पंक्तिका साथै आम जनता तथा भविष्यको पुस्तामा चेतना र सजगताको प्रसारण हुनसकेमा मेरो उम्मेदवारीको सार्थकता रहनेछ । यही सोचका साथ म अगाडि बढेकोे छु ।

१५. पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ७० बर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री समेत भई महत्वपूर्ण जिम्मेवारी वहन गरिसक्नु भएको छ । यस क्रममा उहाँले देश र जनताको लागि गर्नसक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन् । उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो । उहाँको यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकोले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु । पार्टीमा फुट भएको बेला अरुबाट परिस्थितिको सामना गर्न केही कठिनाई हुन्छ कि भन्ने लागेको भए त्यसबारे ममाथि भरोसा गरी ढुक्क हुन उहाँलाई हार्दिक आग्रह गर्दछु । साथै मैले अध्यक्ष पदको जिम्मेवारी पाएँ भने उहाँको महत्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन म सदा तत्पर रहने छु ।

  • ५ मंसिर २०७८, आईतवार १६:०७ प्रकाशित