पत्रकार प्रकाश ढकालको मृत्युबारे अनुसन्धान क्रममा चारजना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

पत्रकार प्रकाश ढकालको शंकास्पद मृत्युको अनुसन्धानका क्रममा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । उनी चढेर आएको गाडीका साहू, चालक र दुई सहचालक पक्राउ परेका हुन् ।

पत्रकार ढकालको शव गत मंसिर ४ गते धादिङको कृष्णभीरमा भेटिएको थियो । उनी तिहारको बिदा मनाउन स्याङ्जाको चापाकोटस्थित घर गएर फर्किने क्रममा सम्पर्कविहीन बनेका थिए । चार दिनपछि कृष्णभीरको मुनि खोल्सोमा शव भेटिएपछि धादिङ प्रहरीले अनुसन्धान थालेको थियो ।

ढकाल घरबाट फर्किने क्रममा खैरेनीटारमा बस चढेका थिए । उनीसँग एउटा झोला थियो । ढकाल चढेको बसले उनलाई बीच बाटोमै जबरजस्ति ओरालिदिएको पाइएको छ । घटनास्थलभन्दा डेढ किलोमिटर अगाडिबाट पैदल हिँडिरहेको सीसीटीभी फुटेजसमेत भेटिएको छ । गाडीबाट बाटैमा झारिएपछि ढकालले प्रहरीलाई फोन सम्पर्क गरेका थिए । उनले आफूलाई जबर्जस्ती बाटोमा झारिएको र आफ्नो झोला गाडीमै छुटेको प्रहरीलाई अवगत गराएका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा ढकाल चढेको गाडी र उनको झोला फेला पारेको छ । सोही गाडीका चार जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । त्यस दिन गाडीका साहू पनि गाडीमै रहेकाले उनी पनि पक्राउ परेका छन् । चारैजनालाई म्याद थप गरेर थुनामा राखिएको छ । परिवारजनले उनीहरूमाथि हत्याको आरोप लगाएका छन् । यद्यपि, ढकालको हत्या गरिएको नभएर जोखिमपूर्ण स्थानमा दुर्घटनावस तल खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

  • २१ मंसिर २०८०, बिहीबार १४:०५ प्रकाशित