काठमाडौँ ।
परराष्ट्र मन्त्रालयले श्रम स्वीकृति लिएर रूस जान रोक लगाएको छ । रूसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएपछि परराष्ट्रले नेपालीहरूलाई श्रम स्वीकृति लिएर रूस जान रोक लगाएको हो ।
सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न बाहेकलाई रूस जाँदा कन्सुलर सेवा विभागबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्ने व्यवस्था गरेको छ । विभागले एनओसी जारी गरेपछि मात्रै रूस जान दिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
श्रम स्वीकृति लिएर रूस जान रोक लगाएको विषयमा वैदेशिक रोजगार विभागले भने जानकारी नरहेको बताएको छ । श्रम स्वीकृति दिन रोक लगाइएको विषयमा परराष्ट्र मन्त्रालयबाट कुनै पत्राचार नभएको विभागका महानिर्देशक मदन दहालले बताए ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै परम्परागत रूपमा रहेको सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको जनाएको थियो । तर, श्रम स्वीकृति लिएर गएका, भिजिट भिसा मार्फत गएका तथा पढ्नको लागि रूस तथा युक्रेन गएका नेपाली दुवै देशको सेनामा भर्ना हुँदै आएका थिए ।