पोखराको पर्यटकीय बसपार्कको जिम्मा एवान कन्स्ट्रक्सनलाई

पार्किङ व्यवस्थापनबाट एक वर्षको भ्याटसहित ३७ लाख ३० हजार १३५ र सटरबाट छुट्टै वार्षिक २७ लाख रुपैयाँ उपत्यका नगर विकासलाईआम्दानी

गोविन्द सुवेदी

पोखरा ।

पोखराको पर्यटन बसपार्क सञ्चालनको जिम्मा एवान कन्स्ट्रक्सनले पाउने भएको छ । खुला टेण्डरका आधारमा उक्त कन्स्ट्रक्सनले एक वर्षका लागि ठेक्का पाएको पोखरा उपत्यका नगरविकास समितिले जनाएको छ ।

उपत्यका नगरविकास समितिका प्रशासकीय अधिकृत प्रमोद कुमार गुरुङका अनुसार ए वानले एक वर्षमा भ्याटसहित ३७ लाख ३० हजार १३५ रुपैयाँ उपत्यका नगरविकास समितिलाई बुझाउनेछ । गत २९ भदौमा उपत्यका नगरविकास समितिले टेण्डर आह्वान गरेकोमा निकेतन निर्माण सेवा र लेवल १ कन्स्ट्रक्सनले २९ लाख ५० हजारमा टेण्डर हालेका थिए ।

बढी रकम दिने भएकाले पोखरा ९ मा रहेको ए वान कन्स्ट्रक्सनले ठेक्का पारेको हो । उक्त कन्स्ट्रसनलाई पार्किङको मात्र ठेक्का दिइएको प्रमुख प्रशासकी अधिकृत गुरुङले जानकारी दिए । ‘बसपार्कमा रहेका सटरहरुको छुट्टै ठेक्का आह्वान गरेका हौं । त्यसका लागि छुट्टा छुट्टै ठेक्कामा पारेर व्यवसाय सुरु भइसकेका छन् । ती सटरहरुबाट मासिक २ लाख २४ हजार ४५४ रुपैयाँ भाडा आउँछ ।’ उनले भने, ‘पार्किङको मात्र ठेक्का एवान कन्स्ट्रक्सनले पारेको हो ।’

प्रशासकीय अधिकृत गुरुङले ठेक्का पारेको एवानसंग सम्झौता भने भइनसकेको जानकारी दिए । ‘प्रक्रियामा गएर उहाँहरुले लिने निस्चित भएको हो । सम्झौता भने भइसकेको छैन ।’ उनले भने, ‘सम्झौता एक वर्षसम्मका लागि लागु हुनेछ ।’

एवान कन्स्ट्रक्सनका प्रोपाइटर राजेश पहारीले एक वर्षका लागि पर्यटन वसपार्कको पार्किङ व्यवस्थापनको जिम्मा आफूले पाएको बताए । उनले पोखराको पर्यटन बसपार्क यस्तो हुनुपर्छ भन्ने उदाहरण दिनेगरी बसपार्क सञ्चालन गर्ने दाबी गरे ।

सिंगो नाट्टा पोखराको अपनत्वमा नै आफूले पर्यटन वसपार्कको पार्किङ व्यवस्थापनको जिम्मा पाएकाले उपत्यका नगरविकास समितिसंग घाटा भएपनि बेहोर्न तयार रहेर जिम्मा लिइएको उनको भनाई छ । ‘अहिलेको अवस्थामा बसपार्कको पार्किङ व्यवस्थापनको जिम्मा लिँदा फाइदा हुन्छ भन्ने लागेको छैन । तर, पर्यटन बस सञ्चालन गर्ने संस्था नै भएकाले घाटा परेपनि बेहोरौंला भनेर आँटेको हो ।’ उलने भने, ‘पोखराको पर्यटनको मर्म बाहिरकाले बुझ्दैनन् भनेर बसपार्कलाई राम्रो बनाउनका लागि नै जिम्मा लिन लागेका हौं’

प्रतिसटर प्रति महिना १६५६१ देखि ४३१०० सम्म भाडा

 

पोखरा उपत्यका नगरविकास समितिले बसपार्क भित्र निर्माण भएका सटरलाई भाडामा लगाएको छ । एउटा सटरको ४३ हजार एक सय देखि १६ हजार पाँच सय ६१ सम्ममा भाडामा लगाइएको प्रशासकीय अधिकृत गुरुङले जानकारी दिए ।

उनका अनुसार १ नम्बर सटरको ४२ हजार, २ नम्बरको ४३ हजार १००, ३ नम्बरको २१९९०, ४ नम्बरको २७ हजार १५३, ५ नम्बरको २१ हजार ९९९, ६ नम्बरको २६ हजार ६५१, ७ नम्बर सटरको २५ हजार र ८ नम्बर सटरलाई १६ हजार ५६१ रुपैयाँका दरले प्रतिमहिना बुझाउने गरि खुल्ला टेण्डरका आधारमा भाडामा लगाइएको छ । त्यहाँका सटरबाट उपत्यका नगरविकास समितिले मासिक २ लाख २४ हजार ४५४ रुपैयाँ आम्दानी गर्नेछ ।

 

  • १८ मंसिर २०८०, सोमबार १८:४२ प्रकाशित