सोती घटना मुद्दामा अन्तिम सुनुवाइ जारी, बुधबारसम्म फैसला आउने अपेक्षा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

रुकुम पश्चिमको सोती घटना प्रकरणमा रुकुम जिल्ला अदालतमा सोमबार पनि सुनुवाइ जारी छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार पनि सुनवाइ जारी रहेको छ ।

रुकुम जिल्ला अदालतका श्रेष्तेदार मन्दिरा शाहीका अनुसार आइतबार वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरूले बहस गरेका छन् । धेरै प्रतिवादी रहेको कारण आइतबार सरकारी वकिलको तर्फबाट बहस सकिएको थिएन ।

सोमबार खाजा समय अगाडिसम्म सरकारी वकिलको तर्फबाट बहस सकाउने तयारी छ । सोमबार खाजा समयपछि र मंगलबार प्रतिवादीतर्फका वकिलहरूको बहस सकिएमा बुधबार खाजा समय अगाडि वादीका तर्फबाट जवाफी बहस गर्ने तयारी छ । जवाफी बहस सकिएमा बुधबार साँझसम्म फैसला आउन सक्ने श्रेष्तेदार शाहीले बताइन् ।

२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा ६ जना किशोर तथा युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाएको थियो ।

  • १८ मंसिर २०८०, सोमबार १४:४८ प्रकाशित