मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ। सोमबार बिहानैदेखि हिमपात भएको हो।
सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिएका छन् ।
विहानैदेखि हिमपात भए पनि कार्यालयहरु सञ्चालन भएको उनको भनाइ छ। यातायताका साधान पनि निरन्तर चलिरहेका छन्। हिमपात भएपछि जनजीवन कष्टकर भए पनि किसान भने हर्षित भएका छन्। लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका थिए।
बिहानैदेखि परेको हिमपातले स्थानीयलाई कामधन्दा र पशुचौपायालाई दाना तथा घाँस खुवाउन समस्या भइरहेको छ ।यस्तै उता हुम्लामा पनि बिहानैदेखि हिमपात भएको छ। हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ।
सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको छ ।