जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता पठाउन सुरु

केन्द्रभाग मिडिया

जाजरकोट । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो ।

रुकुम पश्चिममा मङ्गलबारदेखि नै यो प्रक्रिया सुरु भएर स्थानीय तहले लाभग्राहीलाई रकम वितरणसमेत सुरु गरिसकेका छन् । शिवालयमा तीन हजार तीन सय नौ लाभग्राहीलाई पहिलो किस्ता पठाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका लेखापाल एकराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार प्रतिलाभग्राही २५ हजारका दरले रु आठ करोड २७ लाख २५ हजार पठाइएको छ । पालिकाले भने लाभग्राहीको विवरण पुनः पहिचान गरी रकम वितरण गर्ने जनाएको छ । शुक्रबारदेखि नै यो प्रक्रिया थालिने पालिका अध्यक्ष शेरबहादुर शाहीले बताए ।

लेखापाल उपाध्यायले अन्य गाउँपालिकाबाट भने लाभग्राही विवरण प्राप्त हुन नसकेको बताए । विवरण प्राप्त भएलगत्तै स्थानीय तहमा रकम पठाइने बताए । शुक्रबारदेखि अन्य तहबाट पनि लाभग्राही विवरण आउने जनाइएको छ । जिल्लामा ३४ हजार चार सय ९८ घरमा भूकम्पले क्षति पुर्याएको प्रारम्भिक विवरण छ ।

  • १५ मंसिर २०८०, शुक्रबार १४:५३ प्रकाशित