जाजरकोट भूकम्प

भूकम्प प्रभावित क्षेत्रसम्म पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको निःशुल्क बस सेवा

केन्द्रभाग मिडिया

पोखरा ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित क्षेत्र रुकुममा निःशुल्क बस सेवा दिने भएको छ । भूकम्प प्रभावितका आफन्त, स्वास्थ्यकर्मी र राहत सामग्री लैजान चाहनेका लागि कम्पनीले निसुल्क बसको व्यवस्था गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसीले जानकारी दिएका छन् ।

रुकुम र जाजरकोटमा भूकम्पका कारण भएको जनधनको क्षतिका कारण सिंगो देश नै मर्माहत भएको बेला आफूहरुले थोरै भएपनि मल्हम लगानका लागि उक्त सेवा दिन लागिएको केसीले बताए । उनका अनुसार यसरी निसुल्क सेवा दिने बस आइतबार विहान ८ बजे काठमाडौंबाट छुट्नेछ भने पोखरा दिउँसो २ बजेसम्म आइपुग्ने छ ।

काठमाडौंबाट पोखरा आइपुग्दा प्रभावितका आफन्त, स्वास्थ्यकर्मी र राहत तथा उद्दारकर्ताको संख्या धेरै भएमा थप अर्को बसको समेत व्यवस्था गरिने अध्यक्ष केसीले जानकारी दिए । ‘जाजरकोट र रुकुममा गएको भूकम्पका कारण भएको जनधनको क्षतिबाट समग्र देश नै मर्माहत भएको छ । यस्तो बेला हामीले पनि केही सहयोग गरौं भनेर प्रभावितका आफन्त, स्वास्थ्यकर्मी, उद्दार गर्न तथा राहत सामग्री लिएर जानेहरुलाई निसुल्क बसको व्यवस्था गरेका हौं’ उनले भने ।

गएराति गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण रुकुम र जाजरकोटमा व्यापक मात्रामा जनधनको क्षति भएको छ ।

 

 

 

  • १८ कार्तिक २०८०, शनिबार १५:५३ प्रकाशित