समाजवादी मोर्चाको कास्की समन्वय समिति गठन, एस कास्की अध्यक्ष हमाल संयोजक

केन्द्रभाग मिडिया

पोखरा ।
समाजवादी मोर्चाको कास्की समन्वय समिति गठन भएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादी कास्कीको मनमोहन कक्षमा आयोजित भेलाले समाजवादी मोर्चा गठन गरेको हो । समाजवादी मोर्चा कास्कीको संयोजकमा नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल चयन भएका छन् ।

उनको संयोजकत्वमा चार दलका ८ सदस्यीय मोर्चा गठन भएको नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य तुलबहादुर गुरुङले घोषणा गरेका हुन् । समाजवादी मोर्चा कास्कीमा एकीकृत समाजवादी कास्की उपाध्यक्ष झपिन्द्रराज रेग्मी, माओवादी केन्द्र कास्कीका संयोजक केशव पौडेल, माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य  विनय थापा, नेकपाका कास्की इन्चार्ज उभार सि. र पार्टी प्रतिनिधि सोममायाँ सि., जनता समाजवादीको तर्फबाट जिल्ला अध्यक्ष हर्कबहादुर गुरुङ र जिल्ला सचिव कमल थापा रहेका छन् ।

जिल्ला समन्वय समिति घोषणा गर्दै एकीकृत समाजवादीका स्थायी समिति सदस्य गुरुङले देश र जनताका लागि न्यायपूर्ण समाज निर्माणका लागि मोर्चा गठन भएको बताए । उनले मोर्चालाई आपसमा घुलमिल हुँदै पार्टी एकतासम्म गर्ने उद्देश्य राखिएको जानकारी दिए । आजकल कम्युनिष्टहरु गफ गर्न जान्ने तर त्यसलाई व्यवहारमा उतार्न नसक्ने समस्याबाट ग्रसित रहेको भन्दै अब सिद्धान्तलाई व्यवहारमा उतार्नका लागि कर्म गरेर लाग्ने चुनौती मोर्चा र आवद्ध दलहरुलाई रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजावादीका पोलिट्व्युरो सदस्य एवं गण्डकी प्रदेश कमिटीका कार्यवहाक अध्यक्ष श्रीनाथ बरालले समाजवादी मोर्चाले जनताको जनजिविकाको सवाललाई उठाउँदै पार्टीहरुलाई जनतासंग जोड्ने काम गर्ने बताए । नेकपा माओवादी केन्द्रका कास्की संयोजक केशव पौडेलले समाजवादी मोर्चा गठनले कम्युनिष्ट पार्टीहरु र जनतामा समेत एउटा छुट्टै उर्जा प्रदान गरेको बताए । उनलेपनि मोर्चालाई पार्टी एकतामा रुपान्तर गर्ने लक्ष्य राखिएको धारणा राखे ।

नेकपाका पोलिट्व्युरो सदस्य राजन सीले नेपालको राजनीतिमा विषालु हावा बगेको भन्दै त्यसलाई सफा गर्न समाजवादी मोर्चा सफल हुने धारणा राखे । ‘अहिले देशको राजनीतिमा विषालु हावा बगेको छ । दलाल नोकरशाही र अमेरिकी साम्राज्यवादको जुठोपुरो खाएर यहाँ एजेण्टको रुपमा काम गर्नेहरु सल्बलाउन थालेका छन्,’ उनले भने, ‘त्यसलाई ठिक पार्न पनि यो मोर्चा आवश्यक थियो र यसले नै ठिक पार्नेछ ।

जनता समाजवादीका गण्डकी सहइन्चार्ज धनप्रसाद तामाङले समाजवादी मोर्चाको दस्तावेज अनुरुप काम गर्ने र जनतामा नयाँ सञ्चार भर्ने कामको जिम्मा अब समाजवादी मोर्चाको काँधमा आएको बताए ।

  • ३ कार्तिक २०८०, शुक्रबार १९:१९ प्रकाशित