कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सांसद गौतमको माग

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले देशलाई दुर्घटनाबाट बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गौतमले गठबन्धन सरकारले देशको गरेको अपेक्षा अनुसार काम गर्न नसकेको र अहिले व्यवस्था नै अप्ठेरोमा रहेका कारण राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।

सांसद गौतमले भने,‘सरकारमा काम गर्ने सोच नै छैन । खाली झण्डा हल्लाएर मन्त्रीजीहरु गएर मात्र ने हुन्छ ? अहिले मुलुकमा हामी एकदमै अप्ठेरोमा अवस्थामा पुगिरहेका छौँ । सकुम्बासी समस्या समाधानको खुब ठुल–ठुला गफ गर्‍यौँ । तिमीहरु कोही पनि सुकुम्वासी रहँदैनौँ, तिमीहरु फेरी सुकुम्वासी रहे हामी भोट माग्न आउँदैनौँ भन्यौँ । तर कहाँ छ सुकुम्वासी समस्या समाधान आयोग, कहाँ के काम गरिरहेको छ ? स्थानीय तहलाई आंकडा संकलनको काम दिएँ भनेर उम्किन पाइन्छ ? सुकुम्बासीहरुको बारेमा यो सरकार गम्भीर हुनुपर्दैन ?’

उनले देश दुर्घटनाको संकेत देखिएको भन्दै सबै राजनीतिक दलहरुलाई बेलैमा बिचार नगर्ने हो भने पछि पश्चातापको बाटो बाहेक अरु केही नरहने बताए । नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएकोले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नका लागि जोड दिएका छन् । यदि यसो नगर्ने हो सबै परिवर्तन, क्रान्ति खेर जाने उल्लेख गरे ।

  • २६ आश्विन २०८०, शुक्रबार १६:३८ प्रकाशित