काठमाडौँ । नेपालको राष्ट्रिय फुटबल टोलीले आगामी फिफा विश्वकप फुटबलका लागि बिहीबार लाओससँग प्रारम्भिक चरणको छनोट खेल खेल्दैछ । नेपाल र लाओसबिचको खेल बिहीबार साँझ ५ः३० बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ ।
खेलबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरणकुमार लिम्बु (चेम्जोङ) ले समर्थकलाई रंगशाला गई आफुहरुको हौसला बढाउन आग्रह गरे । उनले अधिकांश समय नेपाली फुटबलका समर्थकलाई सम्बोधन गर्दै आफ्नो धारणा राखे ।
‘दशरथ रंगशाला मेरो लागि संसारकै सबैभन्दा उत्कृष्ट रंगशाला हो । विश्वको अन्य कुनै रंगशालासँग यसको तुलना हुन सक्दैन । म चाहन्छु, नेपालले खेल्ने हरेक खेल घरेलु रंगशालामै आयोजना होस् । तर, त्यो सम्भव छैन भन्ने कुरा पनि मैले बुझेको छु । दशरथ रंगशालामा खेल्दा मैले हजारौँ समर्थकको साथ पाउँछु । एउटा खेलाडीको मनोबल बढाउन समर्थकको निकै ठुलो भूमिका हुन्छ,’ उनले भने ।
उनले लाओसविरुद्ध बिहीबार हुने खेलमा पनि नेपाली खेलाडीको हौसला बढाउन बढीभन्दा बढी समर्थकलाई उपस्थित हुन आग्रह गरे । ‘सञ्चारकर्मी साथीहरूमार्फत म नेपाली फुटबललाई माया गर्ने समर्थकलाई भोलीको खेलमा हाम्रो हौसला बढाउन रंगशालामा आइदिन अनुरोध गर्छु । हाम्रो सबैभन्दा ठुलो शक्ति भनेकै तपाईँहरू नै हुनुहुन्छ । हामी खेलाडी चाहन्छौँ, भोलीको खेलमा रंगशालामा समर्थकको ओइरो लागोस्,’ समर्थककै विषयमा बोल्न अधिकांश समय खर्चिएका नेपाली टोलीका कप्तानले भने ।
उनले लाओसविरुद्धको खेलमा राष्ट्रिय गान बज्दा सबै समर्थकलाई खेलाडीसँगै राष्ट्रिय गान गाउन पनि आग्रह गरे । उनले भने, ‘खेलअघि हामी सँगै मिलेर राष्ट्रिय गान गाऔँ । खेलको अन्तिम समयसम्म पनि रातो र चन्द्र सूर्यको धुनमा रंगशाला गुन्जिरहोस् । रंगशालामा घन्कने समर्थकहरूको आवाज नै हामी खेलाडीको ऊर्जाको स्रोत हो । ’