पोखरा ।
नेपालका लागि जापानी राजदूत किकुता युताका र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भेटवार्ता भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा मंगलबार भएको भेटवार्तामा दुईपक्षिय मित्रवत् सम्बन्ध, सहयोग तथा साझेदारी लगायतका विषयहरुमा छलफल भएको छ । छलफलका क्रममा प्रमुख आचार्यले महामहिम राजदूत किकुताको पोखरा भ्रमण दुई देशहरु जापान र नेपालबिचको चिरस्थायी मित्रताको लागि महत्वपूर्ण पक्षका रूपमा लिएको बताए ।
‘हाम्रा राष्ट्रहरू वर्षौं देखि मित्रता र सहयोगको बन्धनमा एकाकार हुँदै आएका छन्, जुन पारस्परिक सम्मान र भलाइका लागि सँगै काम गर्ने प्रतिबद्धतामा आधारित छ, उनले भने, पोखरा लगायत समग्र नेपालको विकास यात्रामा जापान एक दृढ साझेदारका रूपमा रहँदै आएको छ ।’ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा आफूले जापानको भ्रमण गरेको स्मरण गराउँदै प्रमुख आचार्यले त्यस बखत पोखराको फोहरमैला व्यवस्थापनका लागि गुरुयोजना निर्माण गर्ने सहकार्य गरिएको बताए । जापानले जाइका मार्फत सम्पन्न हुने क्रममा रहेको खानेपानी आयोजना लगायत पोखरामा सञ्चालित महत्वपूर्ण विकास परियोजनाहरूमा दृढ र समर्पित साझेदारको भूमिका निर्वाह गर्दै आएको प्रमुख आचार्यले बताए ।
‘जापानको कोमागाने सहरसँग सन् २००१ देखि नै पोखराको भगिनी सम्बन्ध छ, यस सम्बन्धले दुई सहरलाई मात्र नभई दुई देशहरू बिचमा स्थायी रूप मै सांस्कृतिक आदानप्रदान, सहकार्य र जनस्तरको सम्बन्धलाई सुदृढ बनाइरहेको छ, उनले भने, जापानले निरन्तर रूपमा पोखराको सामाजिक, आर्थिक र सांस्कृतिक प्रगतिमा आफ्नो प्रतिबद्धता व्यवहारिक रूप मै देखाएको छ, यस प्रति पोखरा महानगरपालिका सदैव कृतज्ञ छ ।’ पोखरालाई निकट भविष्यमा पर्यटनको राजधानी सहरका रूपमा घोषणा गर्ने तयारी गरिएको उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा र जापानका विभिन्न सहरहरू बिच नियमित अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण तयार गर्न राजदूत किकुता मार्फत जापान सरकारलाई आग्रह गरे ।
जाइका मार्फत जापान सरकारको सहयोगमा सञ्चालित परियोजनाहरू समयमा सम्पन्न गर्न र पोखराको आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधार निर्माणका क्षेत्रहरूमा लगानी बढाउन समेत उहाँले आग्रह गर्नुभयो । पोखरा खानेपानी सुधार आयोजना अन्तरगत पोखरा–१५ कोलपाटनमा निर्माणाधीन ओभर हेड वाटर ट्याङ्क (खानेपानी ट्याङ्की) को समस्या समाधानका लागि समेत उहाँले आवश्यक पहल गरिदिन राजदूत किकुतालाई अनुरोध गरे । हालसम्म निर्माणमा १४ करोड रुपैयाँ खर्च भएको ट्याङ्कीलाई काटेर पुनः प्रयोगमा ल्याउन करोडौँ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
जवाफमा राजदूत किकुताले पानी ट्याङ्कीको समस्या पोखरा महानगरपालिकाको मात्र नभई राजदूतावास, जाइका र नेपाल सरकारको समस्या भएको बताए । यो साझा समस्याको समाधानका लागि सबै सरोकारवालाहरू बीच छलफल तथा समन्वय गर्नुपर्ने उनले बताए । जापान सरकारको कार्यान्वयन इकाइका रूपमा जाइका मार्फत सञ्चालित परियोजनाहरूको गुणस्तर र प्रतिफल पोखरेली जनताको जीवनसँग जोडिने विषय भएकाले यसमा कुनै प्रकारको कमजोरी हुन नदिने राजदूत किकुताले विश्वास दिलाए । पोखरालाई जापानका सहरहरूसँग हवाई सेवाले जोड्ने विषयमा जापान सरकारसँग आवश्यक समन्वय गर्ने उनले बताए । पोखराको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा साझेदारी गर्न जापान सरकार सदैव सकारात्मक रहेको सन्देश राजदूत किकुताले सुनाए ।
राजदूत किकुता जापान सरकारको तर्फबाट मातृशिशु मितेरी अस्पतालका लागि स्वास्थ्य उपकरणहरू लिएर पोखरा आएका हुन्। बुधवार जापान सरकारको तर्फबाट बाटुलेचौर स्थित मातृशिशु मितेरी अस्पताललाई राजदूत किकुताले स्वास्थ्य उपकरणहरू उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम छ । राजदूत किकुतासँगै दूतावासकी आर्थिक सहयोग सम्बन्धी प्रथम सचिव इशिदा मियुकी पनि पोखरा आएका छन् ।













