काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पार्टीगत राजदूत चयन गर्दा कमजोरी बढेको बताएका छन् ।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले इजरायल घटनामा पनि राजदूतावास र राजदूतको क्षमतामा प्रशस्त प्रश्न उठेको बताए ।
सांसद खनालले सरकारले समयमै आवश्यक पहलकदमी नलिँदा जनतामा सरकार छ भन्ने आशा गुमेको बताए । क्राइसिसको बेलामा क्षमताका कुराहरु बढी प्रमुख रुपमा देखिने गरेको भन्दै उनले सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्ने बताए ।
सांसद खनालले पीडित विद्यार्थीले पनि राजदूतावासमाथि प्रश्न उठाएको भन्दै संवेदनशील मुलुकमा कस्ता राजदूत पठाउने भन्नेबारे सोच्नुपर्ने बताए ।
यसैबीच सांसद प्रभु साहले इजरायलमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउन माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा अन्तरगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री नारायण प्रसाद साउदलाई उनले अप्ठेरो अवस्थामा काम गर्न नसक्ने राजदूतलाई फिर्ता बोलाउन आग्रह गरे ।
सांसद साहले इजरायलमा रहेको नेपाली दूतावासले प्रभाकारी ढङ्गले काम गर्न नसकेको बताए । उनले दूतावासले घटना हुनुभन्दा अगाडिको अवस्थामा पनि नेपालीहरू कुन स्थानमा, कस्तो अवस्थामा छन् त्यस्ता कुराहरूमा दूतावास चनाखो हुनुपर्नेमा जोड दिँदै दक्ष व्यक्तिलाई मात्र राजदूत नियुक्त गर्न माग गरे ।














