काठमाडौँ ।
पोखरामा सञ्चालित साहसिक खेल अल्ट्रालाइट प्रा।लि। सरकारद्वारा सम्मानित भएको छ । विश्व पर्यटन दिवस २०२३ को अवसरमा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरुलाई सम्मान गरेको हो ।
बुधबार आयोजित कार्यक्रममा पर्यटनमन्त्री सुदन किराँतीले पोखरा अल्ट्रालाइट सहित अन्य विभिन्न क्षेत्रका कम्पनीहरूलाई सम्मानित गरेका हुन् ।
अल्ट्रालाइटले साहसिक खेलअन्तर्गत सन् २०२२ अगस्ट १ देखि २०२३ अगस्टसम्ममा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सफल भएकाले सम्मानित भएको हो । पोखरा अल्ट्रालाइटका तर्फबाट योगेन्द्र थापाले सम्मान ग्रहण गरेका थिए । यस कम्पनीले सो वर्ष ४४ हजार ३८८ अमेरिकी डलर आर्जन गरेको बताइएको छ ।
पोखरामा सन २०११ देखि पोखरा अल्ट्रालाइटले साहसिक खेलका पारखीहरूका लागि उडान गराउँदै आइरहेको छ । पोखराको बाराही चोकमा कार्यालय रहेको यस कम्पनीका अध्यक्ष विप्लव पौडेल हुन् भने म्यानेजिङ डाइरेक्टरमा पोम नारायण श्रेष्ठ छन् ।