पोखरा ।
कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको आयोजनामा स्याङ्जाको कालीगण्डकी –७ मिर्मीमा आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । निःशुल्क आँखा शिविरमा एक हजार १२३ जनाले आँखा परीक्षण गराएका छन् । सम्पर्क समाजका अध्यक्ष लक्ष्मण न्यौपानेका अनुसार उक्त शिविरमा ६१७ जना महिला र ५०६ जना पुरुषले सेवा लिएका हुन् । शिविर हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग भएको हो ।

मिर्मी बहुमुखी क्याम्पसमा भएको शिविर शनिबार बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो । आँखा शिविरमा मोतीयाविन्दुको शल्यक्रिया गर्नुपर्ने ३३ जनालाई र अन्य जटिल खालका समस्या भएका ५५ जना आँखाका बिरामीलाई स्याङ्जा जिल्ला आँखा अस्पताल वालिङमा रिफर गरिएको छ । हिमालयन आँखा अस्पताल पोखराको विशेष सहयोगमा वालिङमा सञ्चालित जिल्ला आँखा अस्पतालमा आँखाका बिरामीको उपचार हुँदै आएको छ ।
आँखा शिविरमा कालीगण्डकी गाउँपालिकासहित गल्याङ नगरपालिका, गुल्मीको कालीगण्डकी गाउँपालिका, पर्वतको विहादी गाउँपालिका, पाल्पाको वग्नाशकाली र रम्भा गाउँपालिकाका बिरामी सेवा लिन आएको न्यौपानेले जानकारी दिए । उनले एक हजार एक सयलाई औषधि र ५९२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले हिमालयन आँखा अस्पताल पोखराको समन्वनमा दसैँतिहार पछाडि आँखा विभाग सञ्चालन गर्ने बताए । उनकाअनुसार पालिकाले सञ्चालन गरेको कालीगण्डकी अस्पतालमा रगत परीक्षण, एक्सरे, भिडियो एक्सरे, ओपिडी, इमर्जेन्सी, फार्मेसी, सामान्य शल्यक्रियालगायतका सेवा छन् । उनले हाल सम्पन्न भएको शिविरका लागि आर्थिक र प्राविधिक सहयोग गरेको बताए । अध्यक्ष थापाले दसैँ र तिहारको बीचमा बृहत् आँखा शिविर सञ्चालन गरेर बाँकी रहेका आँखाका बिरामीको शल्यक्रियासहित उपचार गर्ने योजना रहेको जानकारी दिए ।














