कोभिड विरुद्ध दुवै मात्रा खोप लगाएका मानिसहरुमा प्रतिरोधात्मक क्षमता घट्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोभिड विरुद्धको दुवै मात्रा खोप लगाएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको पाइएको छ ।

यूकेका स्वास्थ्य संस्था र चिकित्सकहरूले कोभिडविरुद्ध दुवै मात्रा खोप लगाएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको पुष्टि गरेका छन् । उनीहरुले खोप लगाएका व्यक्तिमा रोगसँग लड्ने क्षमता गएको भन्दै पुन कोरोनाभाइरस सङ्क्रमण भएमा मृत्युसम्म हुन सक्ने चेतावनी दिएका छन्।

चिकित्सकहरुले खोपका कारण संक्रमणका सामान्य लक्षणविरुद्ध सुरक्षित हुने भए पनि संक्रमणकै कारण हुने मृत्यु रोक्न नसक्ने बताएका छन् । पछिल्लो समय खोप लगाएका व्यक्तिमा संक्रमण देखिएमा सोही कारण मृत्यु रोक्न विस्तारै कम भईरहेको उनीहरुको दाबी छ ।

अस्पतालमा उपचार आवश्यक पर्ने वा मृत्युसम्म पुग्ने जोखिम वृद्धहरूमा बढी रहेको बताइएको छ। दुवै मात्रा खोप लगाएका मानिसहरूको मृत्युको ठूलो सङ्ख्या ७० वर्षभन्दा माथि उमेर समूहको रहेको पनि जनाइएको छ। युवा समूहमा भने उक्त जोखिम कम छ।

सुरुवाती चरणमा वृद्ध मानिसलाई खोपले सुरक्षा दिनु सम्भव रहेको तर अब एन्टिबडीहरू कमजोर भएकोले दोस्रो पटक कोभिड–१९ विरुद्ध सुरक्षा दिने क्षमता नहुन सक्ने एडिनबर्ग विश्व विद्यालयका रोग प्रतिरक्षा विज्ञ प्राध्यापक एलेनोर रिलेले बताएका छन् । कोभिड संक्रमणको जोखिममा रहेका वृद्धवृद्धालाई सुरुवातमा खोप दिइएकाले हाल उनीहरूको शरीरमा एन्टिबडी कम हुँदै गएको बताइन्छ ।

डेल्टा भेरिअन्टको उदयले ती एन्टिबडीलाई झनै खराब स्थितिमा पुर्‍याएको छ। उक्त भेरिअन्ट बढी सङ्क्रामक छ र मानव शरीरमा सहजै प्रवेश गर्छ।

प्रकाशन हुन बाँकी एउटा अनुसन्धानले अस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउने बित्तिकै कोरोनाभाइरस सङ्क्रमणको लक्षण ६६ प्रतिशतले कम गर्ने बताएको थियो । तर ठिक पाँच महिनापछि उक्त आँकडा ४७ प्रतिशतमा झरेको बताइएको छ । फाइजर खोपको हकमा उस्तै आँकडा ९० प्रतिशतबाट ७० प्रतिशतमा झरेको पाइएको छ।

  • २८ कार्तिक २०७८, आईतवार १६:१० प्रकाशित