पोखरा ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज विहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकामा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड आजै साँझ अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । उनले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसको अघिल्लो दिन मंगलबार उनी अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
अमेरिकामा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ ।
उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्रीको भ्रमणमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी हुनेछन् ।
प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ । चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।