हेटौँडा अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा

केन्द्रभाग मिडिया

हेटौँडा ।
हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका छन् । हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत सम्बन्धित रोग विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले चिकित्सकमाथी कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा बुझाएका हुन् ।

उक्त पत्रमा सुरक्षाको प्रत्याभूति नभएकाले उपचार सेवा प्रवाह गर्न नसक्ने कारण उल्लेख गरिएको एक चिकित्सकले जानकारी दिए । उनका अनुसार अस्पताल भित्रै प्रवेश गरेर उपचारमा खटिएका डाक्टर माथि आक्रमण गर्ने र कारवाहीका लागि प्रहरी प्रशासनले देखाएको आनाकानी विरुद्ध सामूहिक रूपमा राजीनामा दिनुपर्ने बाध्यता देखिएको हो ।

‘सेवा प्रवाह गरे बापत डाक्टर पिटिनुपर्ने, प्रहरी प्रशासनले कारबाहीमा गरेको ढिलासुस्तीले हामीलाई हतोत्साहित बनाएको छ । डाक्टरहरूले सुरक्षित महसुस भएर काम गर्ने वातावरण छैन । त्यसैले सामूहिक राजीनामा लेखेका हौँ ।’ उनले भने

  • २९ भाद्र २०८०, शुक्रबार १३:१८ प्रकाशित