सत्ताका लागि हैन, संविधानको रक्षाका लागि गठबन्धन बनेको होः अर्थमन्त्री शर्मा

केन्द्रभाग मिडिया

पोखरा।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमनकारी केहि हदसम्म परास्त भएपनि अहिले फेरी सल्बलाईरहेको बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको शनिबार पोखरामा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

प्रतिगमन गर्नेहरु, संविधान च्यात्न खोज्नेहरु, फेरीपनि सल्बलाई रहेका छन्, तिनीहरुलाई परास्त गर्न प्रेस जगतले कलम चलाउनुस्’–उनले भने । जनताको उपलब्धी उल्टाउन खोज्नेहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतको पाँच दलीय गठबन्धनको आन्दोलनका कारण केहि हदसम्म परास्त भएको उनले बताए ।

अर्थमन्त्री शर्माले सरकारमा जानका लागि मात्र पाँच दलीय गठबन्धन नबनेको बताए । उनले भने,यो गठबन्धन त सरकारमा जानका लागि होइन, लोकतन्त्रको रक्षाका लागि, संविधानको रक्षाका लागि, प्रेस स्वतन्त्रताको रक्षाका लागि गठबन्धन बनेको हो । उनले पूर्ण लोकतन्त्र भनेकै समाजवाद भएको अथ्र्याए ।

‘लोकतन्त्र होइन, पूर्ण लोकतन्त्रमा जानुपर्छ, त्यो भनेको समाजवाद हो’–उनले भने । उनले प्रेसमाथि सरकारले अंकुश नलगाउने बताए । उनले भने,‘संघ सरकारले प्रेस माथि अंकुश लगाउँदैन । जहाँ अंकुश लगाउने गरि विधेयक आएको छ, त्योपनि सच्याउनका लागि म आग्रह गर्दछु ।’ प्रदेशमा प्रेसमाथि अंकुश लगाउने खालका विधेयक आएकोप्रति लक्षित गर्दै उनले त्यो सच्याउन आग्रह गरेका हुन् ।

अर्थमन्त्री शर्माले वर्ग संघर्षदेखि जनयुद्धहुँदै शान्ति प्रक्रियामा रुपान्तरण भएर गणतन्त्र ल्याउनेसम्मको नेतृत्व नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डले गरेको बताए । ती उपलब्धी रक्षा गर्ने कामपनि माओवादी र त्यसका अध्यक्ष प्रचण्डले नै गरिरहेको उनले दाबी गरे । उनले समाजवादको आधार तयार गर्दै त्यहाँसम्मको यात्रा तय गर्ने काममापनि प्रेस जगतले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

  • २७ कार्तिक २०७८, शनिबार १४:०० प्रकाशित