पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पहिलो पटक व्यावसायिक उडान सुरु भएको छ । आज बिहान रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान अवतरण भएको हो । तीन जना यात्रु लिएर जाहाज अवतरण भएको विमानस्थलका प्रमुख देवचन्द्र लाल कर्णले जानकारी दिए । शनिबार बिहान ६ः४० बजे विमान अवतरण भएको हो ।
ड्रुक एयर पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमान बनेको छ । यसअघि पोखरामा सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो । चीनबाट चार्टर्ड गरेर आएको सो विमान रित्तै फर्किएको थियो ।
भुटानी एयरलाइन्स ड्रुकले भने पोखराबाटै यात्रुहरू लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान सुरु गरेको छ । पोखराबाट पारोका लागि उडान भर्दा यात्रुहरू भने सबै विदेशी हुन्। अधिकांस यात्रु अमेरिकी हुन भने केही भारतीय पनि उडानमा थिए । विमान ८ः५ बजे फर्किएको छ ।
पर्यटकलाई गण्डकी प्रदेशका पर्यटन मन्त्री दिपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पर्यंटनसम्बद्ध संघसंस्थाका प्रतिनिधि र विमानस्थलका प्रतिनिधिले विदाई गरेका थिए ।