काठमाडौँ ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्ने आक्रमणकारी श्याम बहादुर सापकोटा पक्राउ परेका छन् ।
सापकोटाले रिसको झोकमा आक्रमण गरेको बताएका छन् । प्रहरीले पक्राउ गरेर सिंहदरबार बृत्तमा लगेपछि गरिएको सोधपुछका क्रममा उनले रिसको झोकमा आक्रमण गरेको प्रहरीलाई बताएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
बुधबार रिपोटर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा नुवाकोटको बिदुर नगरपालिका ७ घर भएका श्याम बहादुर सापकोटाले यादवको टाउकोमा पछाडिबाट खुकुरीले आक्रमण गरेका हुन् । घाइते यादवको टाउकोमा सामान्य चोट लागेको छ । खतरामुक्त अवस्थामा रहेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
आक्रमणपछि उनले एमसीसी खारेज गर, हिन्दू राष्ट्र कायम गर, राजसंस्था जिन्दावाद जस्ता नारा लगाएको बताइएको छ । नेपाली जनता ठूलो ऋणमा डुबेको भन्दै नेताहरुप्रति उनले आक्रोश पोखेको प्रत्यक्षदर्शीको भनाई छ ।














