कांग्रेसमा प्रकाशमानको नयाँ गुट, सिंहले किन छोडे पौडेल समूह ?

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारी घोषणा गरेर अलग गुट निर्माण गरेका छन् । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा रहेका सिंहले उक्त समूह छाडिसकेका छन् ।

पौडेलले आफू पक्षीय प्रभावशाली नेताहरुको बैठक बोलाउँदा सिंह अनुपस्थित भएका छन् । उनले पौडेललाई सभापतिका लागि साथ नदिने स्पष्ट पारिसकेका छन् ।

यसअघि पौडेलले डाकेको बैठकमा पनि सिंहले मार्ग प्रशस्त गर्न भनेका थिए । तपाईलाई १३औं महाधिवेशनमा ज्यान फालेर साथ दिएको हो तर सक्नुभएन अब मार्ग प्रशस्त गर्नुहोस्, सिंहको भनाई उदृत गर्दै निकट स्रोतले भन्यो ।

विगतमा पौडेल समूहको बैठकमा सिंहले ठाडै सभापतिको दाबेदारी छाड्न भनेका थिए । त्यतिबेला पौडेल रातोपीरो भएको बुझिएको छ ।

सिंहले पौडेल समूहमा रहेका र अन्य समूहका असन्तुष्टहरुलाई विस्तारै आफ्नो पक्षमा तान्न थालेका छन् । अर्का प्रभावशाली नेता गगन थापा पनि सिंहको पक्षमा खुलेका छन् । उनी यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षमा थिए ।

काठमाडौं उपत्यकालगायत आसपासका जिल्लाहरुमा प्रकाशमान सिंहको पकड बलियो देखिएको छ । यसकारण पनि उत्साही भएका छन् । काँग्रेसमा व्यक्तिगत पकडका हिसाबले सभापति शेरबहादुर देउवापछि प्रकाशमान सिंह बलियो देखिएका छन् । अब उनले देउवालाई सभापतिमा चुनौती दिने सम्भावना बढेको छ । उनले टिम बनाएर १४औं महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी दिने तयारी गरिसकेका छन् ।

पौडेल समूहका भनी चिनिएका महामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्यहरु डा। शेखर कोइराला र सुजाता कोइराला कसरी बढ्ने हुन् अझै स्पष्ट भएको छैन । उनीहरु पौडेललाई साथ दिने हुन् या आफै अगाडि बढ्ने हुन् चासोको विषय बनेको छ । यद्यपि, कोइराला परिवार पछिल्लो समय विभाजित भएको देखिन्छ । सशांक कोइराला र शेखर कोइराला सभापतिको दाबेदार देखिन्छन् । सुजाताको पनि सभापतिमा दाबी छ । सुजाताले सशांकलाई कुनै हालतमा साथ नदिने घोषणा गरिसकेकी छिन् ।

काँग्रेसभित्र बदलिएको राजनीतिक समिकरणले देउवाविरुद्ध प्रकाशमान सिंह र कोइराला परिवारका सदस्यमध्येबाट गरी कम्तिमा तीनजना सभापतिको उम्मेदवार बन्ने देखिएको छ । उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि सभापतिको दाबी गरेका छन् ।

  • २६ कार्तिक २०७८, शुक्रबार १५:३८ प्रकाशित