पोखरा ।
पोखरा महानगरपालिकाले पृथ्वीचोक स्थित बसपार्क भित्र रहेका एक दर्जन बढी मोटर पार्टस् र ग्यारेजहरू सोमबार बन्द गरेको छ । यसअघि ती पसलहरु स्थानान्तरणका लागि महानगरले समय दिइएको थियो । हाल बसपार्क व्यवस्थापनको काम तीव्र गतिमा भइरहेकाले बसपार्क कै जग्गामा सञ्चालित ती मोटर पार्टस् र ग्यारेजहरू बन्द गरिएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक एवं वडा नं.१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले बताए ।
“महानगरपालिका पोखरा बसर्पाकको व्यवस्थित सञ्चालनका लागि प्रतिबद्ध छ, अहिले सडकबाट छुट्ने सबै गाडीहरूलाई बसपार्क भित्रबाटै छुट्ने.छुटाउने अनिवार्य व्यवस्था लागु गरिएको छ, संयोजक शर्माले भने, अहिले बसपार्कको आन्तरिक व्यवस्थापनको काम गरिरहेका छौँ, सोही अनुरूप बसपार्क कै जग्गा रहेका मोटर पार्टस् र ग्यारेजहरू बन्द गरेका हौँ ।”
शर्माका अनुसार बसपार्क भित्र रहेका कवाडी सङ्कलन केन्द्रहरूलाई भने यही भाद्र २२ गते भित्र स्थानान्तरण गर्न निर्देशन दिइएको छ ।
पृथ्वीचोक बसपार्कलाई थप व्यवस्थित बनाउनका लागि रेलिङहरू निर्माण गरिएका छन् भने नाला निर्माण सम्पन्न गरी ढलान गर्ने तयारी गरिएको समितिका सदस्य एवं वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताए । बसपार्क व्यवस्थापन अन्तरगत बिच भागमा रहेका टिकट काउन्टरहरू हटाइएको छ भने, केही टहराहरू समेत स्थानान्तरण गरिएको छ ।
बसपार्क व्यवस्थपनमा प्रशासन र अन्य सम्बन्धीत सरकारी र यातायात व्यवसायी कम्पनीहरुले पनि तत्परता देखाएका छन् ।
बसपार्क व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बासुदेव घिमिरेले चासो दिएर अग्रसरता लिएका छन् । पृथ्वीचोकमा सडकबाटै क्यु छुट्दै आएका बसलाई बसपार्क भित्रबाट संचालन गर्ने र सडक खाली गराउन प्रजिअ घिमिरेले मुख्य भुमिका खेलेका थिए ।
बसपार्क क्षेत्रमा भइरहेको अतिक्रमणलाई हटाई व्यवस्थित बसपार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउदै आएका छन् । आचार्यका अनुसार त्यस क्षेत्रमा रहेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरणको पहिलो चरणको कार्य सम्पन्न भैसकेको भने, अव दोस्रो चरणमा तिनीहरूको व्यवस्थापनको काम सुरु हुनेछ । त्यसपश्चात् बसपार्कमा थप पूर्वाधार निर्माणका कामहरू गरिनेछन्।














