पोखरामा २३ वर्षपछि बाघ जात्रा सुरु (तस्बिरहरु)

केन्द्रभाग मिडिया

पोखरा।
पोखरामा २३ वर्षपछि बाघ जात्रा देखाइएको छ । जात्राको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले उद्याटन गरे । बाघका आकृतिसहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरी जात्रा देखाइएको छ । मानिसलाई बाघको रुपमा सिंगारेर शिकारीले घेरेको अभिनयमा बाघजात्रा देखाइएको थियो ।

परापूर्वकालमा बाघको आतङ्कले पोखरेली आजित भएको र बाघलाई मनाउन बाघ जात्रा निकाल्ने प्रचलन रहेको बूढापाका बताउँछन् ।

परम्परागत रुपमा मनाइँदै आइएको जात्रा पछिल्ला वर्षहरुमा हराउँदै जान थालेपछि पुराना पुस्ता भने चिन्तित छन् । समुदायको पहिचान बोकेको पुरानो परम्परा र संस्कृति संरक्षणमा जोड दिनुपर्ने भन्दै स्थानीयले पोखरा महानगरपालिकालाई गुहारेका छन् ।


यसपालिको जात्रामा राजाको रूपमा कलाकार जीतेशमान गुमाजू र रानीको रूपमा कलाकार शिवानी श्रेष्ठ गुभाजूलाई बजार परिक्रमा गराइएको थियो। बाघको भूमिका सुरेश खड्गीले निर्वाह गरेका थिए । जात्रा नेवा छेंबाट सुरु भएको थियो। जात्रा संयोजक जवाहरलालले पहिलो दिन गणेश टोल, मोहरिया टोल हुँदै बगरक्षेत्र, दोस्रो दिन पृथ्वीचोक र तेस्रो दिन पोखरा रङ्गशालामा जात्रा देखाइने जानकारी दिए ।

जात्राको सुरुआत मानिस र बाघको द्वन्द्वसँग जोडिएको छ । गाउँमा बाघले धेरै दुःख दिएपछि राजालाई यसबारे जानकारी दिइएको र राजाले सेनासहित आएर बाघ मारेको भनाइ छ । बाघको हैरानी र डरबाट मुक्ति भएको दिनको सम्झनामा जात्रा मनाउने चलन रहिआएको छ ।

  • १८ भाद्र २०८०, सोमबार १८:१६ प्रकाशित