पोखरा ।
इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा)को २० औं साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको आइतबार पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले नेपालमा भारतीय नोट नचल्दा नेपाल आउने भारतीय पर्यटक अन्यत्र गएको बताए ।
उनले नेपाल आएका भारतीय पर्यटकले यहाँ पैसा चल्दैन भन्दा निरासा व्यक्त गरेको उनले जानकारी दिए । ‘भारतीय ५ सयको नोट चल्दैन । यहाँ भारतीय पैसा चल्दैन भन्दा भारतीयहरु अहिले नेपाल भन्दा बाहिर धेरै जान थालेका छन् । यसको समाधान छिट्टै नगर्ने हो भने पर्यटन क्षेत्र अझै धरापमा पर्छ’ उनले भने ।
अध्यक्ष श्रेष्ठले राजधानी जोड्ने पृथ्वी राजमार्गको पोखरा मुग्लिङ सडक निर्माणमा भएको ढिलाई, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनु, नेपालको हवाई भाडा विश्वमै महंगो हनु जस्ता कारणले नेपालमा पर्यटक आउन सक्ने अवस्था नरहेको सुनाए । उनले विगतमा ७ प्रतिशतमा लिएको ऋणको व्याजदर अहिले १७ प्रतिशत पुगेको भन्दै कोरोना कहरका बेला राज्यले व्यवसाय बन्द गरेर सहयोग गर्नुपर्छ भनेको र त्यही बेला व्याजपनि बढाएर मारमा पारेको टिप्पणी गरे ।
पर्यटन वोर्ड पोखराका निमित्त प्रमुख नवीन पोखरेलले पोखरा आउेन पर्यटकको मापन गर्न नसके व्यवस्थापन गर्न नसकिने बताए । कुनै कुराको तथ्यांक नै छैन भने के आधारमा योजना र पूर्वाधार बनाउने भन्दै उनले पर्यटकीय राजधानी घोषणाको माग गरिएको पोखरामा पर्यटक कति आउँछन् भन्ने अन्योल रहेको स्विकार गरे । यसमा पर्यटन वोर्ड लगायत सवै सरोकार वालाले सोच्नुपर्ने धारणा राखे ।
सन २०१९को आँकडालाई आधार मान्ने हो भने नेपालमा सत प्रतिशत पर्यटक आउँदा ३० लाख पर्यटक आउन सक्ने देखिएको बताए । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरै क्षमता (२४ चलाउँदा) प्रयोग गर्दापनि वार्षिक १०/११ लाख पर्यटक भन्दा आउन नसक्ने उनको भनाई छ । पर्यटक बढाउने हो भने पोखरा वा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको विकल्प नरहेको उनले बताए ।
एगाका अध्यक्ष इन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभामा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेल, राष्ट्रिय समाचार समितिका गण्डकी प्रमुख बासुदेव पौडेल, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, एगाका उपाध्यक्ष गोकर्ण लम्साल र सचिव गीता ढकाल पौडेल लगायतले बोलेका थिए ।
उनीहरुले एगाले उत्पादन गरेका बस्तुले देशको चिनारी विश्वमा पु¥याएको बताए । उत्पादनमा आधारित पर्यटन व्यवसायीहरुलाई राज्यले त्यहीढंगले हेर्नुपर्नेमा उनीहरुको जोड थियो ।
उक्त अवसरमा पोखराको पर्यटकीय क्षेत्र एवं एगाको बारेमा कलम चलाएर महत्वपूर्ण योगदा दिएको भन्दै पत्रकार बाशुदेव पौडेल लगायत संस्थामा विभिन्नढंगले योगदान दिएकाहरुलाई सम्मान गरिएको थियो ।