विभिन्न क्षेत्रमा योगदान दिएका पोखराका चार महिलालाई ओटेफको सम्मान

केन्द्रभाग मिडिया

तस्बिर : जमुना वर्षा शर्मा

पोखरा ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले समाज रुपान्तरणमा योगदान पु¥याएका पोखराका चार महिलालाई सम्मान गरेको छ । ‘गण्डकी प्रदेशको दिगो पर्यटन, सांस्कृतिक पर्वहरुको प्रवद्र्धन’ गर्ने उद्देश्यका साथ आयोजना गरिएको तीज विशेष नारी सम्मान कार्यक्रम २०८० मा प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले उनीहरुलाई सम्मान गरेकी हुन् ।

सम्मानीत हुनेमा हिंसा पीडित महिला एवं मानसिक स्वास्थ्यको क्षेत्रमा क्रियाशिल अधिकारकर्मी विना सिलवाल, पर्यापर्यावरण संरक्षण एवम महिला र बालबालिकाको न्यायका पक्षमा आवाज उठाउँदै आएकी अधिवक्ता भगवती पहारी, पर्यटन व्यवसायी एवं बालबालिकाको क्षेत्रमा क्रियाशिल अभियन्ता गोमा ढकाल र पाँचवटा क्यान्सरसँग जुधेर पनि सक्रिय उद्यमी जीवन व्यतित गरिरहेकी महिला उद्यमी एवम अभियन्ता लक्ष्मी शर्मा भट्टराई रहेका छन् ।

सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले समाज रुपान्तरणमा महिलाको योगदानको चर्चा गरिन् । उनले तीज पर्व पछिल्लो समय महिलाको महान पर्वको रुपमा विकसित हुँदै एक अर्काबीच मायाँ बाड्ने स्वतन्त्रताको पर्वको रुपमा स्थापित हुँदै गएको बताइन् ।

उनले सामाजिक विकासक्रमसँगै संस्कृतिहरु पनि हस्तान्तरण हुँदै जाने र समुदायले अपनत्व लिने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिइन् । तीज पर्वका विषयमा विभिन्न टिकाटिप्पणी आइरहेको सन्दर्भलाई जोड्दै उनले तीज पर्व पनि सरकारसँग जोडिन पुगेको धारणा राखिन् ।

कार्यक्रमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य देवका पहारीले पर्यटन क्षेत्रमा महिला पर्यटन व्यवसायीको योगदान उल्लेखनीय रहेको जनाउँदै चाड पर्वलाई महिला शसक्तीकरणसँग जोडेर अगाडि लानुपर्ने बताइन् । सामाजिक समानताको अभियानमा यस्ता पर्वलाई माध्यम बनाएर समग्र विकासका लागि साझा धारणा र दृष्टिकोणको आवश्यकता रहेको उनको भनाइ थियो ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, संस्थाका अध्यक्ष उमा भण्डारी, महासचिव लक्ष्मी लामिछाने र कार्यक्रम संयोजक विकल्प बोगटीले आ–आफ्नो धारणा राखेका थिए ।

  • १५ भाद्र २०८०, शुक्रबार २१:४८ प्रकाशित