एकता र सद्भावलाई थप उचाइमा पुर्याउनु पर्दछ : प्रधानमन्त्री दाहाल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इतिहासदेखि कायम हुँदै आएको एकता र सद्भावलाई राष्ट्र र जनताको हित एवं विकासका पक्षमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनै पूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीलाई शुभकामना दिँदै उनले सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको कामना पनि व्यक्त गरेका छन् ।

‘प्राचीन कालदेखि नै नेपाल विभिन्न जातजाति, भासाभासी, सभ्यता र संस्कृतिको सङ्गमको रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको छ । जाति, भाषा र पर्वहरूको विविधताले सभ्यता र संस्कृतिमा नेपालको वैशवशाली गौरव प्रमाणित गर्दछन्’, शुभकामना सन्देशमा भनिएको छ ।

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित मुलुकमा विद्यमान विकृति, विसङ्गति, भ्रष्टाचार, बेथितिको अन्त्य गरी सुशासन कायम गर्न, व्यवस्थामा आएको गुणात्मक परिवर्तनअनुरूप जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन तथा विभिन्न महामारी, विश्व भूराजनीतिक सङ्कट र हाम्रो आफ्नै व्यवस्थापकीय कौशलताको सीमाका कारण अप्ठ्यारो परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काएर विकास र समृद्धिको क्षेत्रमा तीव्रता दिने सङ्कल्पमा रहेको पनि सन्देशमार्फत उनले दाबी गरेका छन् ।

ुपछिल्लो समय सरकारको तर्फबाट जे–जति पहलहरू लिइएका छन्, ती सबै देशको समुन्नति र जनताको बृहत्तर हितको चाहनाद्वारा परिलक्षित छन् । तसर्थ, यस ऐतिहासिक अवसरमा इतिहासदेखि कायम हुँदै आएको हाम्रो एकता र सद्भावलाई राष्ट्र र जनताको हित एवं विकासका पक्षमा थप उचाइमा पुर्याउनसमेत आम जनसमुदायमा हार्दिक अपिल गर्दछु, सन्देशमा भनिएको छ ।

  • १४ भाद्र २०८०, बिहीबार ०९:२४ प्रकाशित