काठमाडौं । जातीय छुवाछुत तथा विभेदका घटनाको उजुरी प्रहरी प्रशासनले गम्भीर रूपमा नलिएको भन्दै सांसदले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा भाग लिँदै नेपाली कांग्रेस सांसद आशा विकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारले जातीय छुवाछुत तथा विभेदका घटना न्यूनीकरणका लागि के योजना ल्याउँछ भन्दै प्रश्न गरेकी हुन् ।
उनले भनिन्, ‘राज्यले २०६३ साल जेठ २१ गते मुलुकलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गर्यो । छुवाछुत गर्नु अपराध भनेर कानूनमा लेखिए पनि अहिलेसम्म जातीय विभेदका जघन्य अपराध भइरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले जातीय विभेदका घटनामा प्रहरी प्रशासनले संवेदनशीलताका साथ उजुरी नलिएको भन्नेमा आफ्नो ध्यानाकर्षण भएको भन्दै यस्ता घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने र यस्ता आगामी दिनमा हुन नदिनका लागि सरकारको गम्भीर ध्यान गएको बताए ।













