काँग्रेस महाधिवेशन नजिकिदै गर्दा गुट टुटफुट, कुन नेता कता लागे ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति अब भने नसर्ने सम्भावना बढेर गएको छ । महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी हुँदा केही जिल्लाका वडा तहका अधिवेशन सकिदैछ । विशेषगरी प्रदेश नं २ का अधिकांश जिल्लाका वडा र पालिका तहका अधिवेशन सकिएपछि प्रदेश क्षेत्र र क्षेत्र हुँदै जिल्लाको महाधिवेशन हुनेछ । हिमाली जिल्लाका अधिवेशन सकिइसकेको छ ।

जिल्ला अधिवेशन पुग्दासम्म काँग्रेसभित्र प्रभावशाली नेताहरुको कित्ताकाट हुनसक्छ । जिल्ला अधिवेशन सकिएपछि केन्द्रीय महाधिवेशन अगावै नेताहरु को कता लाग्ने टुंगो लाग्ने निश्चित छ ।

यसपटकको महाधिवेशनमा सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल दोहोराउने गरी सक्रियता देखाइरहेका छन् । उनले आफ्नो विरोधी समूहलाई कमजोर पार्न भरमग्दुर प्रयास गरिरहेका छन् ।

प्रधानमन्त्री समेत रहेका देउवाले मन्त्रिमण्डल विस्तार गर्दा फालेको अस्त्रले इतर समूह छिन्नभिन्न भएको छ । विगतमा रामचन्द्र पौडेल समूहमा रहेका कोइराला परिवार र प्रकाशमान सिंह जस्ता मुख्य हस्तीहरुले आफ्नै गुट बनाइसकेका छन् ।

पूर्वमहामन्त्री सिंहले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । उनलाई देउवाले महत्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्री बनाउने प्रस्ताव गरेपनि तयार भएनन् । सिंहले देउवा र पौडेलबाट काँग्रेस चल्न नसक्ने अभिव्यक्ति दिइसकेका छन् ।

कोइराला परिवार पनि विभाजित भएको छ । देउवाले मन्त्री बनाउन महामन्त्री डा. सशांक कोइरालाको प्यानलका डा. मीनेन्द्र रिजाललाई बनाएपछि केन्द्रीय सदस्यहरु डा। शेखर कोइराला र सुजाता कोइराला रुष्ट छन् । सुजाताले सार्वजनिक रुपमै सशांक कुनै हालतमा काँग्रेसको नेतृत्वमा पुग्न नसक्ने ठोकुवा गरिसकेकी छिन् । उनी सशांकलाई साथ नदिने पक्षमा देखिएकी छिन् । शेखर कोइरालाले सभापतिको दाबेदारी प्रस्तुत गरिसकेका छन् ।

अब काँग्रेसभित्र ६ वटा बलियो गुट देखिएको छ । सभापति देउवाको एउटा गुट छ । जसमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा।प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखक, महेन्द्र यादव जस्ता सांगठनिक पकड भएका नेताहरु छन् । खाँड युवाहरुमाझ पकड बनाएका नेता हुन् । तर, यो शक्तिले मात्र देउवा सभापति बन्न सक्नेछैनन् । उनलाई अरु नेताहरुको पनि साथ हुनुपर्छ ।

देउवाले उपसभापति विजयकुमार गच्छेदारको साथको आशा राखेका छन् । गच्छेदार देउवाका पुराना सहकर्मी हुन् । काँग्रेस प्रजातान्त्रिक बनाउँदा देउवालाई गच्छेदारले साथ दिएका थिए । काँग्रेस र मधेशी जनअधिकार फोरम एकीकरण हुँदा देउवाले गच्छेदारलाई निकै महत्व दिएका थिए । गच्छेदारको मत काँग्रेस महाधिवेशनमा निकै महत्वपूर्ण हुनसक्छ । तर, उनले कस्को पक्षमा लाग्ने खुलाएका छैनन् ।

काँग्रेसभित्र कृष्णप्रसाद सिटौलाको गुट पनि बलियो छ । पूर्वमहामन्त्री सिटौलाको पक्षमा प्रदीप पौडेल, उमाकान्त चौधरी, भीमसेनदास प्रधान जस्ता नेताहरु छन् । सांगठनिक पकडका हिसाबले पौडेल बलियो छन् । सिटौला आफै सभापतिको दाबेदार हुन् । १३औं महाधिवेशनमा उनले सभापतिको उम्मेदवारी दिएर तेस्रो स्थान हासिल गरे । दोस्रो चरणको मतदानमा तटस्थ बस्ने घोषणा गरेपनि भित्री रुपमा देउवालाई साथ दिएका थिए । त्यसैले देउवाले सिटौलालाई पछिसम्म हरेक ठाउँमा कोटा दिए ।

कोइराला परिवारभित्र तीन गुट छ । जसमध्ये डा। सशांक कोइराला महामन्त्री भएकाले बलिया देखिन्छन् । तर, उनलाई निकटस्थले छाड्दै गए । कोइरालाले १३औं महाधिवेशनमा देउवासँग भित्री रुपमा गठबन्धन बनाएको चर्चा पनि चलेको छ । उनी यसपटक पनि देउवासँग नजिकिने सम्भावना बढ्दै गएको छ ।

केन्द्रीय सदस्य शेखर कोइराला र सुजाता कोइराला एक ठाउँमा देखिएका छन् । शेखर पछिल्लो समय निकै दौडधूपमा छन् । उनले संगठनमा पकड बनाउन खूबै मिहेनत गरे । सुजाता पनि दौडधूप गरिन् । उनीहरु मिलेर जाँदा पनि सभापतिका लागि देउवालाई हराउन शक्ति पुग्दैन । अर्को शक्तिको साथ लिनुपर्छ ।

काँग्रेसभित्र पूर्वमहामन्त्री प्रकाशमान सिंहको अर्को गुट छ । सिंह व्यक्तिगत रुपमा देउवापछिका शक्तिशाली संगठन भएका नेता देखिएका छन् । उनको काठमाडौं उपत्यका र आसपासका जिल्लामा पकड बलियो देखिएको छ । सबैभन्दा बढी प्रतिनिधि आउने काठमाडौं जिल्लामा उनको बलियो प्रभाव देखिइसकेको छ । त्यसबाहेक धेरै मतदाता भएका जिल्लामा सिंह बलियो देखिएका छन् । उनको पक्षमा लोकप्रीय युवा नेता गगन थापा खुलेका छन् । तराईका जिल्लामा पनि सिंहलाई साथ देखिएको छ ।

उपसभापति विमलेन्द्र निधिको शक्ति प्रदेश २ मा बढी छ । बढी प्रतिनिधि चुनिएर आउने भएकाले प्रदेश २ का जिल्लामा धेरैको ध्यान छ । निधिको शक्ति अबको केही दिनमा थाहा हुन्छ । उनले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । देउवाको साथ छाडेका निधिले अर्को गुटका बलिया नेताहरुको साथ लिने या दिने रणनीति बनाउन थालेका छन् ।

काँग्रेसभित्र पकड बलियो भएका अर्जुननरसिंक केसी, डा. रामशरण महत जस्ता नेताहरु अहिलेसम्म पौडेलको साथमा छन् । तर, उनीहरुको पनि आफ्नै दाबेदारी छ । यी नेताहरु कुन समूहमा लाग्ने हुन् चासोको विषय बनेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह कमजोर हुँदै गएको छ । उनलाई कोइराला परिवारका शेखर र सुजाता कोइरालाले छाडिसकेका छन् । प्रकाशमान सिंह पौडेलसँग छैनन् । यसकारण उनी देउवासँग मिलेर जाने सम्भावना बढेर गएको छ ।

अब देउवाले पौडेल र सिटौलामध्ये एकको साथ पाउने सम्भावना बलियो भएको छ । त्यसबाहेक गच्छेदारको पनि साथ पाउन सक्छन् । महामन्त्री सशांक कोइरालाले पनि देउवासँग पावर सेयरिङ गरेर बढ्ने सम्भावना देखिदै गएको छ ।

देउवाविरुद्ध प्रकाशमान सिंह, विलेन्द्र निधि र शेखर कोइराला एक हुने सम्भावना बलियो बन्दै गएको छ । त्यतिबेला सुजाता पनि यही समूहमा रहन सक्छिन् । पौडेल देउवासँग गए सिटौला कि त विरोधी समूहमा मिलेर बढ्न सक्छन् कि त विगतमा जस्तै तेस्रो धार बनाउन सक्छन् । रिपोर्टस् नेपाल डटकमबाट

  • २५ कार्तिक २०७८, बिहीबार १३:४० प्रकाशित