टी–२० सिरिजस् नेपालको लगातार दोस्रो जित

केन्द्रभाग मिडिया

पोखरा ।

नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । बायोमास ओभल रंगशालामा बुधबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो ।

नेपालले सिरिजको पहिलो खेलमा मंगलबार हङकङलाई ६ विकेटले हराएको थियो । दुई जितसँगै नेपालले चार अङ्क बनाएको छ । लगातार दुई हार खेपेको कुवेत अङ्कविहिन छ । कुवेत पहिलो खेलमा घरेलु टोली मलेसियासँग आठ विकेटले पराजित भएको थियो ।

जितका लागि नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कसवेत निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ५५ रनमा समेटिएको थियो । कुवेतका लागि जिफा जिलानीले ११ र खादिजा खलिले १० रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका इन्दु बर्माले तीन विकेट लिइन् । खुशी डंगोलले दुई तथा कविता कुँवर, सीता रानामगर र इश्वरी विष्टले एक एक विकेट लिइन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८९ रन बनाएको थियो ।

नेपालका लागि इन्दु बर्मा र विन्दु रावलले समान २३/२३ रन बनाए । कोजोल श्रेष्ठले अविजित १९ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा कुवेतका मरियम्मा हैदरले चार विकेट लिइन् । मरियम उमरले दुई तथा प्रियदा मुरली र खादिजा खलिलले एक एक विकेट लिइन् । नेपालले अब सिरिजको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सिरिजको शीर्ष दुई टोलीबिच शनिबार फाइनल खेल हुनेछ ।

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपालले मलेसिया, हङकङ र कुवेत सम्मिलित सिरिज खेलेको हो । नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै खेल्नेछ ।

  • ६ भाद्र २०८०, बुधबार १७:०४ प्रकाशित