पोखरा।
नारायणगढ–मुग्लिन सडकखण्डमा गएराती करिब साढे ८ बजेको समयमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार अहिले ४ वटा एक्साभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ ।
पहिरो ठुलो रहेकाले पन्छाएर सडक खुलाउन अझै तीन चार घन्टा लाग्न सक्ने प्रहरीले बताएको छ । नाम्सी पुलनजिकै खसेको पहिरो रातीदेखि नै पन्छाउन थालिएको हो ।
रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै अलपत्र परेका छन् । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनले अनुरोध गरेको छ ।
पोखराबाट गएका सवारीसाधनलाई मुग्लिन र काठमाडौँबा गएका सवारीलाई कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको छ ।














