म्याग्दी ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ ।
कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले आज सूचना जारी गरेर सडकमा ढुङ्गा, पहिरो खस्ने र नदी किनारमा धाँजा फाटेर जोखिम हुने भएकाले वर्षायामभर रातको समयमा गलेश्वर–दाना खण्डमा यातायात सञ्चालन नगर्न अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पहिरो र कटानका कारण दुर्घटनाको जोखिम देखिएकाले रातको समयमा यातायात बन्द गरिएको बताउनुभयो । स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा १० वटा पहिरा छन् ।














