म्याग्दी ।
बेनी जोमसोम सडक १२ दिन पछि खुलेको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा पहिरो खस्दा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालन आएको हो ।
सडक माथिबाट पहिरो खसेका कारण बैसरी अँधेरीखोलामा आवरुद्ध भएको ७६ किलोमिटर दुरीको उक्त सडक आज बिहान १० बजेदेखि सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।
आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले पानी व्यवस्थापनका साथै थुप्रिएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको जानकारी दिए । भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले नयाँ अभ्यास गरेको उनले जानकारी दिए ।
पहिरो व्यवस्थापन गर्न प्रयोग भएको खोल्साको पानीलाई पाइपमार्फत सुरक्षितरुपमा खोल्साबाट बगाइएको छ । पहिरो पन्छाउनका लागि साउन २८ गतेदेखि ३२ गतेसम्म बेनी–जोमसोम सडकको घुमाउनेताल–बेगखोला खण्डमा पूर्णरुपमा यातायात बन्द गरिएको थियो ।
बैसरीको पहिरोले सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको थियो ।














