कक्षा १२ को नतिजा प्रकाशनबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साढे ४ बजेलाई बोर्ड बैठक डाकेको छ । बोर्डका एक सदस्यले साढे ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

‘हिजो नै रिजल्ट तयारीबारे एक चरणमा बैठक भइसकेको छ, प्राविधिक समस्या नआए आजै साँझसम्म कक्षा १२ को नजिता सार्वजनिक हुने सम्भावना छ,’ उनले भने, ‘केही कठिनाइ देखिए नतिजा प्रकाशन भोलि ९बुधबार० सर्न पनि सक्छ ।’

यसअघि दिउँसो २ बैठक बस्ने बताइएको थियो ।सोमबार बोर्ड बैठक बसेर तयारी पुरा भएपछि नतिजा सार्वजनिक गर्न पुनः बैठक डाक्ने निर्णय भएको थियो । त्यहीअनुसार मंगलबार साढे ४ बजेलाई बैठक बोलाइएको बोर्डका एक कर्मचारीले जनाए ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न सम्पन्न परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिएका थिए । प्राविधिक समस्या आएको खण्डमा भोलिका लागि सर्नेछ ।

बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

गत वर्ष ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

  • ३० श्रावण २०८०, मंगलवार १३:५७ प्रकाशित