काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढाउन सहमति भएको छ । बैठक बस्नुपूर्व सभामुख देवराज घिमिरेको पहलमा दलका प्रमुख सचेतकहरूबीचको बैठकमा सभा सुचारु गर्ने विषयमा सहमति जुटेको हो ।
बैठकको सुरुमा दलीय आधारमा एक–एक जनाले आकस्मिक समय प्रयोग गर्ने सहमति भएको छ । त्यसपछि गृहमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने सहमति बनेको सभामुखको सचिवालयले जनाएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा सभामुखसँगको छलफलका क्रममा सत्तापक्ष प्रमुख सचेतकहरुले संसद् बैठकमा प्रतिपक्षले गृहमन्त्रीको जवाफ सुन्नुपर्ने बताएका थिए ।
दिउँसो ३ बजेका लागि बोलाइएको आजको प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।