दार्चुला ।
भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा भेडा चराउन गएका नेपाली युवकको मृत्यु भएको छ । भेडाबाख्रा चराउन गएका १९ वर्षीय गोठाला विनोद ठगुन्नाको मंगलबार ढुंगा लागेर ज्यान गएको आफन्तले जनाएका छन् ।
नौगाड गाउँपालिका-३ दल्लेकका स्थानीय विनोदको ढुंगा लागेर मृत्यु भएको भए पनि मृतकको शरीरमा कुनै चोटपटक नभएको आफन्तजनले बताएका छन् । उनले घटनास्थलको फोटो प्राप्त भएको र मृतकको शरीरमा कुनै प्रकारको चोटपटक नदेखिएको बताइएको छ ।
ढुंगा लागेर विनोदको ज्यान गएको खबर आफन्तलाई भारतीय पक्षले दिएका हुन् । मृतक विनोदले एक वर्षदेखि एक जना भारतीय व्यवसायीको दुई सयभन्दा बढी भेडाबाख्राहरू चराउने कार्य गर्दै आएको बताइएको छ ।














