सुनकाण्डमा सरकार नै मुछिएको छ

निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति चाहिन्छ : अध्यक्ष ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद आफूहरूले नभइ सरकारले नै रोकेको आरोप लगाएका छन् ।

आफूहरूले सुनकाण्डबारे बोल्न पाउनुपर्ने माग गर्दा सरकारले बोल्न नदिनका लागि संसद रोकेको ओलीको भनाइ छ। तुल्सीलाल अमात्य स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको मात्रै कुरा सुनेर आफूहरू नबस्ने बताए ।

‘हामीले गृहमन्त्रीले बोलिदिनुस् सदन खोलिदिन्छौ भनेको होइन। सांसदहरुले बोल्न पाउनुपर्छ भनेका हौं। तर सरकारले सांसदले बोल्छन् भनेर सभामुखलाई दबाब दिएर सूचना टाँसेर संसद रोकेको हो।’ ओलीले भने , ‘सरकारले बालुवाटारको सहमति संसदमा पुग्दा केपी ओलीले छाड्यो भनेर कुप्रचार गर्‍यो।’

सुन तस्करी प्रकरणमा सरकार आफैं संलग्न रहेकाले आफूहरूले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको ओलीले बताए। ‘तपाईंहरुले गरिरहेको छानबिन गर्नुस् । तर उहाँहरू आफैं मुछिनुभएकाले निष्पक्ष छानबिनका लागि हामीले उच्चस्तरीय समिति बनाऔँ भनेका हौं’, ओलीले भने, ‘सर्वसाधारणको एउटा सिक्री समात्ने सरकारले दिनकै क्विन्टलका क्विन्टल सुन तस्करलाई पठाइरहेको छ। त्यत्रो सुन नदेख्ने भए त्यहाँ भन्सार किन राख्या ? जनतालाई मात्र दुःख दिन राखेको हो ’ ओलीको प्रश्न थियो ।

सुन तस्करी प्रकरणमा कांग्रेस चुइँक्क बोल्न नसकेको भन्दै उनले भने, ’ ‘म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई भन्न चाहन्छु । देउवाजी तपाईँले क्विन्टल क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ? के छ तपाईंको विचार ?’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेले बाहेक अरूले देश चलाउनै नसक्ने दाबी समेत गरे ।

  • १७ श्रावण २०८०, बुधबार १८:२५ प्रकाशित