कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ, सभामुख त्यागेका बाबुरामले पाए अर्थको जिम्मेवारी

केन्द्रभाग मिडिया

बिराटनगर।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मंगलबार मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । मुख्यमन्त्री थापाले पद तथा गोपनियताको शपथ लिएसँगै ३ जना मन्त्री नियुक्त गरेका छन् ।

थापाले आज नपाली कांग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई मन्त्री नियुक्त गरेका हुन् । आज मन्त्रीमा नियुक्त गौतम कोशी प्रदेशका निवर्तमान सभामुख हुन् । उनले हिजो मुख्यमन्त्री थापालाई बहुमत पुर्याउन सभामुख पदबाट राजीनामा दिएका थिए । थापालाई मुख्यमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका गौतमले प्रदेशको सबैभन्दा शक्तिशाली मानिने आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सभामुखबाट मंगलबार राजीनामा दिएका गौतमलाई मन्त्री बनाउने निर्णयमा पुगेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइँ जीवन आचार्यले अन्तिम समयमा मन्त्रीमा दाबी गरेपछि माओवादी केन्द्रभित्र बढेको विवाद र कार्यविभाजनका लागि शपथ ग्रहण बिहान नभएर अहिले साँझसम्म सारेको थियो ।

  • १७ श्रावण २०८०, बुधबार १८:१९ प्रकाशित